काँग्रेस नेता शेखर कोइराला भन्छन : बैंक सबैभन्दा ठूलो मिटरब्याजी हो



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा सबैभन्दा ठूलो मिटरब्याजी बैंक भएको आरोप लगाएका छन् ।


शनिबार चितवन काठमाडौं प्रजातान्त्रिक संगमको ३३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको उदघाट्न गर्दै नेता कोइरालाले बैंक सबैभन्दा ठूलो मिटरब्याजी भएको आरोप लगाए ।

आफुसँग बैंकर्सहरु रिसाएको भन्दै कोइरालाले आजभोली सबैभन्दा ठूलो मिटरब्याजी बैंक भएको भन्दै आफु बताउँदै आएको बताए ।

मुलुक आर्थिक मन्दीबाट जर्जरतर्फ धकेलिरहेको अवस्थामा बैंकहरु भने फस्टाइरहेको उनको कथन थियो । ‘आर्थिक रुपमा सबै क्षेत्र जर्जर भइसकेका छन,’ उनले भने,‘तर बैंकहरु मज्जाले फस्टाइरहेका छन । बोनस बाँडिएका छन । यो कसरी सम्भव भयो ?’

सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले उपलब्ध नगराएको पनि उनको आरोप छ । ‘झट्ट बैंकले दिदैंन । दिइहाले पनि बैंकले पहुँचको आधारमा मात्रै झिनो ऋण दिन्छन,’ उनले भने,‘ठूलो ऋण दिन मान्दैन । ठूला उद्योगपतिले कृषि ऋण माग्दा सजिलै दिन्छन ।’

कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताए ।

‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो । कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ’, डा कोइरालाले भने ।

उनले स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्षमात्र प्लस टु पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएको भन्दै उक्त युवाशक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस कार्यक्रम अगाडि सार्नुपर्ने बताए ।

कुनै पनि देशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन जरुरी रहेको कोइरालाको भनाइ थियो । देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने उनले बताए ।

कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स सङ्घका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालले वैदेशिक रोजगारी, विप्रेषण र स्वरोजगारी उद्यमशीलता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु