विमानको इन्जिन मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न उपसमिति, इजरायली कम्पनीसँग क्षतिपूर्ति माग्ने



काठमाडौं । नेपाल वायुसेवा निगमको विमानको इन्जिन मर्मतमा ढिलाइ भएको बारे छानबिन गर्ने भएको छ । निगमको ९ एन एकेएक्स कलसाइनको न्यरोबडी जहाज इन्जिन मर्मत गरेर फर्कन ढिलो भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरेको हो।

यही वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

उपसमितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेश इन्ड्रष्ट्रि (आइएआई)मा मर्मत सम्भार गर्न पठाएकोमा समयमा नै उक्त जहाज नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन गर्ने भनिएको छ। यसको लागि निगमले उपसमितिलाई १५ दिनको समय दिएको छ ।

निगमले आईएआईसँग जहाज मर्मतमा भएको ढिलाइले निगमलाई परेको घाटाको विषयमा क्षतिपूर्ति माग्ने भएको छ । यसका लागि निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई आवश्यक पहल गर्न निगमले निर्देशन दिएको छ ।

अधिकारीबाट नेपाल वायुसेवा निगम र आईएआईबीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी गर्नु भनी फागुन २२ मा सम्बन्धित विभागलाई आदेश समेत भएको थियो । यस विषयमा गत वैशाख १७ गते बसेको निगम कार्यकारी समितिबाट कार्यकारी अध्यक्षले दिएको आदेश बमोजिम पहिलेको इन्जिन भी२५०० एस/एन भी१७६७२ मर्मतमा भएको ढिलाईमा क्षतिपूर्ति माग्ने भएको हो । निगमकै अर्को इन्जिन भी२५०० एस/एन भी १७६७९ ब्रेकडाउन पश्चात सम्झौताको शर्तअनुसार समयमा दिन नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति माग्नुपर्ने निर्णय गरेको निगमले जनाएको छ ।


क्लिकमान्डु