निगमको न्यारोबडी ५ महिनापछि फर्कियो, जहाज थन्किँदा सवा ३ अर्ब घाटा



काठमाडौं । इन्जिन मर्मतमा गएको नेपाल वायुसेवा निगमको एक न्यारोबडी जहाज ५ महिनापछि फर्किएको छ । वायुसेवा निगमका अनुसार १५ मंसिरमा इन्जिन परिवर्तन गर्न इजरायल गएको निगमको ९ एन एकेएक्स कलसाइनको जहाज आवश्यक मर्मत सकेर शनिबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । यो जहाजले आइतबारदेखि नै उडान गर्ने वायुसेवा निगमको भनाइ छ ।

जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएपछि इजरायलमा मर्मत गर्न गएको थियो । मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको निर्धारित समयमा जहाज नआएको निगमको भनाइ छ ।

यो जहाज १० बैशाखमै आउने भनिएपनि मर्मत सकेर उडान भर्ने तालिका तय भइसकेपछि ल्याण्डिङ गेयरको अल्टरनेटिभ ब्रेकिङ सिष्टममा प्राधिक समस्या देखिएपछि निर्धारित समयमा आउन नसकेको निगमको भनाइ छ ।

१५८ सिट क्षमताको ९ एनए एकेएक्स कलसाइनको लुम्बिनी नामक उक्त जहाज इन्जिन परिवर्तन गर्न इजरायलको इजरायल एरोस्पेस इन्ड्रष्ट्रिज (आईएआई) गएको ५ महिना भएको छ । उक्त जहाजले इन्जिन निर्माण कम्पनी आईएआईको इन्जिन भाडामा लिएर आफूसँग भएको इन्जिन मर्मत गर्न छोडेको थियो ।

आफ्नै इन्जिन उक्त कम्पनीले नबनाइदिएको र निगम व्यवस्थापले समयमा नै उपयुक्त निर्णय गर्न नसक्दा ५ महिनासम्म एउटा न्यारोबडी थन्किँदा मात्रै करिब सवा ३ अर्ब रुपैयाा जहाजको उडानबाट हुने रकम घाटा लागेको छ ।

निगमले अहिले पनि एउटा न्यारोबडी उडाउन नसक्दा दैनिक १ करोड ६ लाख भन्दा बढी घाटा छ । मासिक ६६ करोड औषतका दरले ५ महिनामा २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम निगमलाई घाटा भइसकेको छ । यो जहाज मर्मतमा भएको खर्चको हिसाव अबै आएको छैन । जहाज मर्मतमा भएको खर्चका लागि जहाज निर्माता कम्पनीले बिल पठाएछि मात्रै जानकारी आउने निगमको भनाइ छ ।


क्लिकमान्डु