अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारीमा धमिरा लाग्योः सचिव दुवाडी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा यस्तो बताएका हुन् ।

‘सहकारी तीनखम्बे अर्थतन्त्रको एक खम्बा भएपनि अहिले त्यो खम्बामा धमिरा लाग्न लागेको हो कि भन्ने चिन्ता लाग्न थालेको छ’ उनले भने ‘सहकारीमा धमिरा अहिले मात्रै होइन, अघि पहिलादेखि लागेको र त्यसलाई हामिले साथ दिएको हो कि भन्ने लाग्न थालेको छ ।’

सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्मसमीक्षा गर्ने बेला भएको उनको भनाइ छ । ‘अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ’ उनले भने ‘यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ ।’

सहकारीले हरियाली क्षेत्रमा गरेको लगानी अहिले सुख्खा भएको उनले बताए । जिडिपिमा ठुलो योगदान गरेको क्षेत्र अहिले आफै समस्यामा परेको बताए । सहकारी समस्या पर्दा ७३ लाख परिवारको अवस्था के होला भनेर सोच्ने बेला भएको बताए ।

सहकारीमा आन्तरिक समस्या बढि भएका कारण समस्या बढेको उनको दाबी छ ।

सहकारीका सन्चालकले कसरी काम गरेको छ भनेर हेर्ने जिम्मा लेखा सुपरिवेक्षण समितिको भएपनि त्यसो हुन नसकेको, आफुले बनाएको कानुन पालना नगरेकोे, नाफा आउने ठाउँमा मात्रा लगानी गरेको सचिव दुवाडीले बताए ।

‘सहकारीले फिक्समा पैसा राख्न नपाउने भएपनि तीन बर्षमा दोब्बर दिन्छु भनेर पैसा ल्यायौं, ब्याजको लोभमा फसाउँदै गयौ, अनि त्यो पैसा कहाँबाट चोरेर ल्याएर दिने’ तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिँदैन उनले भने, ‘यस्ता विकृति हामिले गरेको हो ।’ सहकारीमा बढि ब्याजको नाममा ठगिने क्रम बढेको उनको दाबि छ ।

सहकारीका सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरुबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनले बताए ।

‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौं, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ, धेरै आन्तरिक समस्या छन्’ सचिव दुवाडीले भने ।


क्लिकमान्डु