अर्थतन्त्रको भाँचिएको खम्बाः एक वर्षमा ६६ वटा ठूला सहकारीले ठगे ९ अर्ब



काठमाडौं । अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाको रुपमा रहेको संहकारीलाई नियमन गर्न भन्दै बनेको ऐनलाई अहिले ठूला भनिएका र राम्रो भनिएका सहकारीहरुले नै गिज्याइरहेका छन् ।

तीन खम्बे अर्थनीतिको एउटा खम्बा सहकारी यसैका अभियन्ताका ढाकछोपले यसरी भाचिँए की अहिले त्यो खम्बा चोइटा चोइटा बनाएका छन् । अर्थतन्त्रको एउटा खम्बा यसरी भाँचिनुमा सहकारीका अभियन्ता तथा राजनीतिक संरक्षण कारक हो ।

बेलैमा सचेत भएर कारबाहि गर्दै गएको भए आज भुइमान्छेको अर्बौ ठगेर भाग्ने कसैको पनि आँट आउने थिएन । तर, सहकारी अभियन्ताका गलत बचाव तथा राजनीतिक दलका लह लहैमा लाग्दा अर्थतन्त्रको एउटा खम्बा टुक्रा टुक्रा हुनेगरि भाँचिएको छ । यसले समग्र बैंकिंग प्रणालीलाई नै नकारात्मक असर नगर्ला भन्न सकिन्न ।

आज सहकारीका सञ्चालक, उच्च तहका कर्मचारी, लेखा प्रमुखहरुको भागाभाग छ । बचतकर्ताको बचत कुम्ल्याएर प्रहरीको आँखा छल्दै भागिरहेका छन् ।

सहकारी ऐनका प्रस्तावनाले परिकल्पना गरेको सिद्धान्त अनुरूप चल्ने, न्यून आय भएका सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्न लाग्नु पर्नेमा सहकारीका उच्च व्यवस्थापन, सहकारीका सञ्चालक आफैं घरजग्गा जोड्ने अनि आफैमात्र कमाउने धन्दामा लागेसिछ भुइमान्छेको बिचल्ली भएको छ ।

गाँस काटेर आफ्नो, परिवारका सदस्यको भविश्यका लागि थोरै रकम बचत गर्ने बचतकर्ता अहिले आफ्नो बचत पाउनु भन्दा पनि त्यही बचत पाउनका लागि मुद्दा मामिला, अड्डा अदालत धाउन बाध्यभएका छन् । सहकारी संस्थाहरुले बचतकर्तालाई ठगे भनेर उजुरी पर्ने क्रम जारी छ । सानादेखि ठूला सहकारीसम्मले बचतकर्तालाई ठग्ने क्रम जारी रहेको छ ।

सहकारीबाट ठगियो भन्दै स्थानीय पालिका, प्रदेश सहकारी विभाग, संघीय सहकारी विभाग, नेपाल प्रहरी तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी आउने क्रम बढ्दो छ ।

प्रहरीमा आउने उजुरी मात्रै हेर्ने हो भने पुस मसान्तसम्म देशैभरीका ६६ वटा सहकारीविरुद्ध ७० वटा ठगीको उजुरी परेका छन् । पुस मसान्तसम्म देशभरमा ६६ वटा सहकारीले ८ अर्ब ८९ करोड ५४ लाख १८ हजार २४१ रुपैयाँ ठगेर सहकारीका सञ्चालकहरू फरार भएको भन्दै देशैभरका प्रहरी कार्यालयमा उजुरी परेको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी उजुरी काठमाडौं उपत्यकामा रहेका छन् । अन्य प्रदेशमा पनि सहकारीबाट ठगियो भनेर उजुरी आउने क्रम बढेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीले भने प्राय सबै प्रदेशमा सेवाकेन्द्र खोलेर बचतकर्तालाई ठगेको छ ।

काठमाडौं उपत्यकामा २६ वटा, कोशी प्रदेशमा ४, मधेश प्रदेशमा ८, बागमतीमा ८, गण्डकीमा ८, लुम्बिनीमा ३, कर्णालीमा १, सुदूरपश्चिम प्रदेशका ८ वटा सहकारीका साथै केन्द्रीय अनुसन्धान ब्यूरोमा ८ बटाले ठगी गरेको उजुरी परेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार कोशी प्रदेशमा रहेको तुलसी बहुमुखी सहकारीले १६ करोड ९३ लाख ५३ हजार ३८० रुपैयाँ, ककनी गौरिवन कृषि सहकारी ३९ लाख ३७ हजार २०८ रुपैयाँ, कोशी बचत तथा ऋण सहकारी ४७ करोड रुपैयाँ, नवआदर्श बचत तथा ऋण सहकारी २ करोड ७ लाख ४३ हजार ६०८ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

मधेश प्रदेशमा रहेको कान्तिपुर बहुउद्देश्यीय सहकारीले ५७ लाख ४६ हजार ८१० रुपैयाँ, लोलबल बहुमुखी सहकारी २ करोड ११ लाख २१ हजार ८९४ रुपैयाँ, ग्लोबल बहुद्देश्यीय सहकारीले २९ लाख ३ हजार ४ सय रुपैयाँ, राजश्री सहकारीको रौतहटका एजेन्टले १३ लाख ३९ हजार ४ सय रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको छ । त्यस्तै अम्बेडकर बचत तथा ऋण सहकारी संस्था र महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ४ करोड ८२ लाख १३ हजार ६३ रुपैयाँ, यादगार बचत तथा ऋण सहकारी ३ करोड ३४ लाख ७४ हजार १५४ रुपैयाँ, सानो पाइला बचत तथा ऋण सहकारीले ३ करोड ३४ लाख ७४ हजार १५४ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

यस्तै बागमती प्रदेशमा रहेको सहारा बहुउद्देश्यीय सहकारीले १ करोड ५२ लाख १२ हजार ६२७ रुपैयाँ, गोधुली बचत तथा ऋण सहकारी २ करोड १० लाख २७ हजार ६२९ रुपैयाँ, चन्द्र दर्शन बचत तथा ऋण सहकारी ३ करोड ४६ लाख ५५ हजार ४१४ रुपैयाँ, सनराइज बचत तथा ऋण सहकारी ५४ करोड ८ लाख ८७ हजार ४२१ रुपैयाँ, सामुदायिक लघुवित्त वित्तीय संस्था ७२ लाख ७० हजार ३३५ रुपैयाँ, गरुड बचत तथा ऋण सहकारी १४ करोड ९२ लाख २३ हजार ५९८ रुपैयाँ, यूएम बचत तथा ऋण सहकारी १ करोड ४९ लाख १२ हजार १२२ रुपैयाँ र उप्रेरणा महिला कृषि सहकारी २४ लाख ३ हजार ६७३ रुपैयाँ ठगी गरेको छ।

यता गण्डकी प्रदेशमा रहेको सूर्यदर्शन बचत सहकारी १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ९८८ रुपैयाँ, बलिदानी बचत तथा ऋण सहकारी १० करोड ६९ लाख ३५ हजार ८४५ रुपैयाँ, मित्र मिलन बचत तथा ऋण सहकारी ३१ करोड ७८ लाख २२ हजार ८११ रुपैयाँ, भानुमती साना किसान कृषि सहकारी २ करोड ३४ लाख ३१ हजार ५०५ रुपैयाँ, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी २९ करोड ९८ लाख ५० हजार ८१० रुपैयाँ, श्री ग्रामीण विकास कृषि सहकारी ९ करोड १ लाख ५० हजार २६६ रुपैयाँ, कालिका बचत तथा ऋण सहकारीले १० करोड ८ लाख १३ हजार ४०३ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

शिवशिखर बुहउद्देश्यीय सहकारीको सेवा केन्द्र लुम्बिनी प्रदेशमा पनि रहेको छ । उक्त सहकारीले लुम्बिनी प्रदेशमा पुगेर बचतकर्ताको ५४ करोड ५० लाख रुपैयाँ, शिवशिखर बहुउद्देश्यीय सहकारी र कल्पवृक्ष सहकारीले ८ करोड ४७ लाख ६७ हजार ३२२ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

कर्णाली प्रदेशमा रहेको साना किसाना कृषि सहकारीले १७ लाख २९ हजार ८२९ रुपैयाँ, शिवशिखर बहुउद्देश्यीय सहकारीको सुदूरपश्चिम प्रदेश प्रदेशमा रहेको सेवाकेन्द्रले ३२ करोड ३३ लाख ९७ हजार ६४५ रुपैयाँ, शिव शिखर सहकारी डडेल्धुरामा रहेको सेवाकेन्द्रले ३० करोड ९७ लाख ६९ हजार ९१८ रुपैयाँ शिवशिखरले नै अर्को सेवा केन्द्रले ६७ करोड ८४ लाख १ हजार ५४६ रुपैयाँ, श्री राम समतामुलक कृषि सहकारीले १५ लाख ५१ हजार ६०१ रुपैयाँ ठगी गरेको छ ।

सहकारी ठगीका घटनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि हेरिरहेको छ । प्रदेश सहकारी विभाग, संघीय सहकारी विभागले समेत कतिपय सहकारी ठगीका घट्नाको अध्ययन गर्न सीआईबीमा पठाउने गरेका छन् ।

बचतकर्ताले ठगिएको भन्दै उजुरी गरेपछि सीआईबीले केही सहकारीको अनुसन्धान गरिरहेको जनाएको छ । आर्जन बचत तथा ऋण सहकारीले ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ, रियल गोरखा बचत तथा ऋण सहकारी ८ करोड ६९ लाख ९४ हजार ६२५ रुपैयाँ, साई स्वागत बचत तथा ऋण सहकारी २ करोड २२ लाख १३ हजार ७३४ रुपैयाँ, देउराली बहुउद्देश्यीय सहकारीले ६५ करोड ७७ लाख ६ हजार ८३५ रुपैयाँ, नेशनल डेभलपमेन्ट को अपरेटिभ बचत तथा ऋण सहकारी ३३ करोड २२ लाख ५८ हजार २८३ रुपैयाँ, साउथ वेस्टर्न बचत तथा ऋण सहकारी २ करोड ५२ लाख ९३ हजार ७१ रुपैयाँ बचतकर्ताको ठगेको भन्दै अनुसन्धान जारी रहेको छ ।

काठमाडौं उपत्यका भित्रका नाम चलेका २६ वटा सहकारीले बचतकर्ताको करौडौ रकम ठगेको भन्दै उजुरी परेको छ ।

जनजिविका बचत तथा ऋण सहकारी २ करोड ३१ लाख ७० हजार ५७२ रुपैयाँ, जनसम्पर्क बचत तथा ऋण सहकारी ३७ लाख ७६ हजार ८५८ रुपैयाँ, ओशिका बुहउद्देश्यीय सहकारी १ करोड ९ लाख ६८३ रुपैयाँ, नागरिक विकास ऋण सहकारी ८ करोड २७ लाख २७ हजार १२१ रुपैयाँ, बज्रयान बहुउद्देश्यीय सहरकारीे ५ करोड २८ लाख ७२ हजार ७८१ रुपैयाँ, मोमोस बचत तथा ऋण सहकारी १ करोड ३४ लाख ५० हजार ६८२ रुपैयाँ, प्रज्ञान बचत तथा ऋण सहकारी १० करोड २ लाख ३४ हजार ७२९ रुपैयाँ, उपलब्धि बहुउद्देश्यीय सहकारी १९ करोड ५२ लाख २८ हजार ६९२ रुपैयाँ रुपैयाँ ठगिएको भन्दै उजुरी परेको छ ।

यस्तै डेरी भेटिम्स बचत तथा ऋण सहकारी ६० लाख ५० हजार रुपैयाँ, नमस्ते बचत तथा ऋण सहकारी २ करोड ४८ लाख ९२ हजार २७६ रुपैयाँ, अम्बे बचत तथा ऋण सहकारी ९ लाख ६० हजार ९३१ रुपैयाँ, सुमो बचत तथा सहकारी २ करोड ६५ लाख रुपैयाँ, कान्ति भैरव सहकारीले २५ करोड २६ लाख ६२ हजार ९३२ रुपैयाँ ठगेको उजुरी परेको छ ।

त्यसै गरि शुभशिशिर बचत तथा ऋण सहकारी ७२ लाख ३२ हजार ३५० रुपैयाँ, नाता बचत सहकारीले ३३ लाख ५३ हजार ९९४ रुपैयाँ, मारुती बचत तथा ऋण सहकारी २४ लाख रुपैयाँ, सिगल बचत तथा ऋण सहकारी १ करोड १५ लाख ४९ हजार ४९४ रुपैयाँ, जगत जननी बचत तथा ऋण सहकारी ११ करोड ९१ लाख १५ हजार ४५१ रुपैयाँ, विश्वास बहुउद्देश्यीय सहकारी संस्था ३१ लाख ७१ हजार ५३५ रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।

त्यस्तै, मेघा पावर बचत तथा ऋण सहकारी १ करोड २६ लाख ४६ हजार ९९२ रुपैयाँ, श्रमजीवि बचत तथा ऋण सहकारी २९ लाख १८ हजार ७९० रुपैयाँ, राष्ट्रप्रेम बचत तथा ऋण सहकारी १ करोड ४२ लाख ३६ हजार २४६ रुपैयाँ, दिव्य शान्ति बचत तथा ऋण सहकारी ३ करोड ३५ लाख ७७ हजार ७८३ रुपैयाँ, कृषि विकास बहुउद्देश्यीय सहकारी ५४ करोड रुपैयाँ, कल्याण उपकार सेभिङ एण्ड को अपरेटिभले १७ करोड ९३ लाख रुपैयाँ र शुभ समृद्धि बचत तथा सहकारीले १८ करोड ७६ लाख रुपैयाँ ठगी गरेको छ ।

प्रहरीका अनुसार माता पाथिभरा बहुउद्देश्यीय सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र एभरट्रष्ट बचत तथा ऋण सहकारीले ठगेको रकम संकलन हुने क्रममा रहेको छ । यी सहकारीबाट ठगिएका बचतकर्ताहरुले उजुरी दिने क्रम जारी रहेको बताइएको छ ।

सहकारीको नाममा बचतकर्ता ठग्नेहरु स्वदेशमा मात्रै नभएर विदेशमा समेत लुकेका छन् । स्वदेशमा लुक्नेहरुलाई प्रहरीले खोजी रहेको छ भने विदेशमा लुकेको आशंकामा केही सहकारीका अध्यक्ष तथा सञ्चालक प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले केही सहकारीका सञ्चालकहरूलाई इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीबी राई मुछिएका छन् । राई फरार भएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।

सूर्यदर्शन सहकारी प्रकरणमा जीबीसहित १९ जना सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ ।

प्रहरीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ । नेपालीले १ हजार ५४३ जना बचतकर्ताको १ अर्ब ३१ करोड २८ लाख ४९ हजार ४३८ रूपैयाँ ठगी गरेको आरोप छ ।

यी त केही उदाहारण मात्रै हुन । यस्ता सयौ व्यक्तिलाई अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ । सहकारीका सञ्चालक तथा उच्च अधिकारीहरुले बचतकर्ताको अर्बौ ठगेपछि बचतकर्ता एकजुट हुन थालेका छन् ।

बिहीबार मात्रै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । अभियानले फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने भएको छ । ८ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताइएको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरुले सहकारी पीडितहरुको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयास समेत नभएको बताए । सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म केही काम नगरेको र आफूहरुसँग समन्वयसमेत नगरेको उनको भनाइ छ ।

अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरु जोडिएका उनको दाबी छ । ती पीडितहरु विभिन्न २८९ सहकारीमा आवद्ध रहेको केसीको दाबी छ ।

अब सहकारी बचतकर्ताले रकम पाउँछन्, पाउँदैनन् भन्ने ग्यारेन्टी सरकारले दिनेजस्तो आफूहरुलाई नलागेको उनले बताए ।

नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरुले पीडित बनाएको बताए । सहकारी पीडितहरुको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भएपनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए ।

नेता खनालले सहकारी ठगहरुले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरुले सहकारीका ठगहरुसँग साँठगाँठ गरेको उनको आरोप छ । ‘सहकारी चलाउने भ्रष्टाचार, दलालहरुसँग साँठगाँठ गरेर राज्यले पीडितहरुलाई अझ पीडित बनाएको छ । मेरो त निश्कर्ष यही हो,’ उनले भने ।

राज्य अभिभावक भएर पीडितको न्यायको पक्षमा उभिन आवश्यक रहेको उनले बताए । सरकारले चासो राख्ने हो भने अहिले भएका कानुन नै सहकारी ठगहरुलाई कारबाही गर्न पर्याप्त रहेको उनले बताए । सहकारी ठग, सुन्डमुसुन्ड र अपराधिहरु सरकारकै वरिपरी घुमिरहेका उनको आरोप छ ।

त्यसैगरी, आफूलाई ललितपुर, कुमारीपाटीस्थित गुडविल बचत तथा सहकारी संस्थाको बचतकर्ता बताउने यमबहादुर विष्टले चार वर्षदेखि आफूले बचत रकम फिर्ता नपाएको बताए । उनले सरकारले पनि कुनै पहल कदमी नलिइदिएको भन्दै दुःख व्यक्त गरे । आफूले पैतृक सम्पत्ति बेचेर आएको ११ करोड पैसा उक्त सहकारीमा राखेको उनको भनाइ छ ।

अर्का सहकारी पीडित दृष्टिबिहीन उमेश थापाले आफू देउराली बहुउद्देश्यीय सहकारीबाट ठगिएको बताए । आफूसहित ७ जनाको करिब ४० लाख रुपैयाँ उक्त सहकारीले ठगी गरेको उनले बताए । उक्त पैसा देउराली सहकारीमा फस्दा अहिले काम गर्नसमेत गाह्रो भएको उनले बताए । आफूजस्तै धेरै दृष्टिबिहीन र अपाङ्गको बचत सहकारीले ठगेको उनको भनाइ छ ।

के भन्छ सहकारी ऐन २०७४ ?

सहकारी ऐन २०७४ को प्रस्तावनामा ‘सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालिगड, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरूको प्रवर्द्धन नियमन गर्न, सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसद्ले यो ऐन बनाएको छ’ भन्ने उल्लेख छ ।


सोभित थपलिया