बागमती प्रदेशले काठमाडौंमा समस्याग्रस्त समितिको कार्यालय खोल्ने, ४४ वटा सहकारीको फाइल प्रहरीमा



काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले संघीय राजधानी काठमाडौंमा सहकारी व्यवस्थापन समितिको कार्यालय खोल्ने तयारी गरेको छ । वैशाख महिनाभित्र कार्यालय खुलिसक्ने बताइएको छ ।

बागमती प्रदेशका प्रदेश रजिष्ट्रार रोहित पोखरेलका अनुसार मन्त्रालयले वैशाख महिनाभित्र संघीय राजधानी काठमाडौंमा कार्यालय खोल्ने तयारी गरेको छ ।

मन्त्रालयले यसअघि २०८० भदौ २१ गते सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ उपदफा (२) बमोजिम मन्त्रिस्तरीय निर्णयबाट समस्याग्रस्त घोषणा भएको थियो।

कार्यालय स्थापना नभएका कारण अहिलेसम्म समितिले काम गर्न सकेको छैन । प्रदेश सरकारले समस्याग्रस्त समितिका अध्यक्षसहित सदस्य समेत नियुक्त गरिसकेको बताइएको छ ।

काठमाडौंमा कार्यालय खोलेपछि समितिले काम सुरु गर्ने बताइएको छ । बागमती प्रदेश अन्तर्गत ३२१८ वटा सहकारी रहेका छन् । त्यसमा १७ सय सहकारी बचत तथा ऋण सहकारी रहेका छन् ।

त्यसमध्ये करिब आधा दर्जन सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा कार्यालय खोलेपछि बचतकर्तालाई उजुरी दिन सहज हुने अपेक्षा रहेको उनले बताए।

सहकारीले बचत ठगे भनेर बागमती प्रदेशमा उजुरी आउने क्रम बढेको पोखरेलले बताए ।

बचतकर्ताको बचत फिर्ता गर्न सहकारीका सञ्चालक सम्पर्कमा नआएपछि विभिन्न ४ जिल्लाका ४४ वटा संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गरी कारबाही गर्न प्रहरीमा पठाएको छ ।

प्रदेशले ४४ वटा सहकारी संस्थाका संचालकले बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै थप कानूनी कारबाहीका लागि प्रहरीमा पठाएको पोखरेलको भनाइ छ ।

जसमा जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा २० वटा सहकारीको फाइल, परिसर ललितपुरमा ९, परिसर भक्तपुरमा २, काभ्रेपलान्चोक प्रहरीमा २ र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा ११ वटा सहकारीको फाइल पठाएको छ ।

प्रदेशले जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जनप्रेम वचत तथा ऋण सहकारी संस्था लि. गोलढुंगा, टोखा काठमाडौंमा रहेको जय अम्बे बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको न्युरोडमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंमा रहेको राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संस्थाको फाइल पठाएको छ ।

यस्तै एबिसि बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको राइजिङ्ग अप बचत तथा ऋण सहकारी संस्था, भद्रकाली कृषि सहकारी संस्था, माछापोखरीको उपहार बहुउद्देश्यीय सहकारी संस्था, गोंगबुमा रहेको यती बहुउद्देश्यीय सहकारी संस्था, टोखामा रहेको कान्ती भैरव बचत तथा ऋण सहकारी संस्थाको फाइल पठाएको छ ।

बागमती प्रदेशले गतिशिल बचत तथा ऋण सहकारी संस्था, टोखामा रहेको सूर्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, कैलाशचउर काठमाडौंमा रहेको उपलब्धी बहुउद्देश्यीय सहकारी संस्था, गेट वे बचत तथा सहकारी संस्था, ग्रेट गंगा सागर बचत तथा ऋण सहकारी संस्था, साखः बचत तथा ऋण सहकारी संस्था, विजयपथ बचत तथा ऋण सहकारी संस्था, अनमोल बहुउद्देश्यीय सहकारी संस्था, हरिसिद्धि को अपरेटिभ, मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था र प्रस्परस बचत तथा ऋण सहकारी संस्थाको फाइल पठाएको छ ।

त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा मञ्जरी बहुउद्देश्यीय सहकारी संस्था, ललितपुरको सातदोबाटोमा रहेको करुणा बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको न्यूरोडमा रहेका सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था, इमाडोलमा रहेको साकार बचत तथा ऋण सहकारी संस्था, ललितपुर–५मा रहेको कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोपरेटिभ लि, ललितपुर–५मा रहेको शुभ समृद्धि बचत तथा सहकारी संस्था, वेलहम्स बचत तथा ऋृण सहकारी संस्था, सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको फाइल पठाएको छ ।

प्रदेशले केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा काठमाडौंको तिनकुनेमा रहेको भरोसा बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंमा रहेको लसकुस बहुउद्देश्यीय सहकारी संस्था, सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, स्मृति बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको अक्षता बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको सन्ध्या बचत तथा ऋण सहकारी संस्था, रियल गोर्खा बचत तथा ऋण सहकारी संस्था, एभरट्रष्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ संस्था, टोखामा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्था, सुमो बचत तथा ऋण सहकारी संस्था, विश्वास बहुउद्देश्यीय सहकारी संस्थाको फाइल पठाएको छ ।

काभ्रे जिल्लामा रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था र यू.एम. बचत तथा ऋण सहकारी संस्था र भक्तपुरमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको फाइल पठाएको छ ।


क्लिकमान्डु