परिसंघ अध्यक्षद्वारा सरकारको प्रशंसा, भन्छन्ः कानुन संशोधन गरेपछि निजीक्षेत्र सन्तुष्ट



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले विभिन्न कानुन र नियमहरू परिमार्जन गरेर निजी क्षेत्रको अनुरोधलाई सम्बोधन गरेको बताएका छन् । अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गरेसँगै सरकारको प्रशंसा गर्दै अग्रवालले यसो गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताए ।

लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अग्रवालले भने, ‘कानुन परिमार्जन भएको जानकारी गराउन पाउँदा म निकै कुरा खुसी छु, सरकारले हालै संशोधनहरू मार्फत निजी क्षेत्रले उठाएका सक्रिय कदमलाई मान्यता दिएको छ । यो कामको प्रशंसा गर्न पाउँदा मलाई ठूलो सन्तुष्टि मिलेको छ ।’ यी कार्यहरूले देशभित्र लगानीको अनुकूल वातावरण निर्माण गर्न सरकारको अटल प्रतिबद्धतालाई जोड दिएको उनको ठहर छ ।

अग्रवालले भने, ‘अध्यादेशमार्फत कानुन संशोधन गर्नु र प्रक्रियालाई सुव्यवस्थित बनाउनु व्यवसायको वातावरण सहज बनाउने अग्रगामी दृष्टिकोण हो ।’

अग्रवालले प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र रणनीतिक अवस्थिति भएका कारण नेपालले नेपालमा लगानीको दिगो प्रतिफल हासिल गर्न सक्ने पर्याप्त ठाउँ रहेको पनि बताए । पर्यटनदेखि प्रविधिसम्म, पूर्वाधार विकासदेखि नवीकरणीय ऊर्जासम्म, शिक्षादेखि स्वास्थ्य सेवासम्म सम्भावनाका क्षेत्र पहिचान भएको भन्दै उनले नेपालले नवप्रवर्तन, उद्यमशीलता र समावेशी आर्थिक विकासको लक्ष्य लिएअनुसार लगानीका लागि विभिन्न क्षेत्रहरु पहिचान भएको बताए । ‘प्रस्ताव गरेका लगानी सम्भावनाबाट हामी सबैले लाभ लिन सक्नुपर्छ । यो सम्मेलनलाई लगानी प्रवद्र्धनका लागि अधिकतम सदुपयोग गर्न र यसलाई रोजगारी सृजना, पूर्वाधार विकास र सामाजिक-आर्थिक प्रगतिसँगै जोड्न सहकार्यका लागि आग्रह गर्दछु,’ उनले भने ।

अग्रवालका अनुसार नेपालको सम्भावनाको सूचीमा पर्यटनसँगै सूचना प्रविधि क्षेत्र नयाँ आयाम बनेको छ । नेपाल दक्षिण एसियाली क्षेत्रमा उदीयमान सूचना प्रविधि (आईटी हब) को रूपमा आफूलाई स्थापित गर्ने चरणमा रहेको बताउँदै उनले भने, ‘नेपालले सूचना प्रविधि क्षेत्रबाट निर्यात गर्नसमेत थालिसकेको छ ।’

जलविद्युत्, शिक्षा, स्वास्थ्य सेवा, चिया, घरजग्गा र कपडालगायतका विविध क्षेत्रहरूमा लगानीकर्ताहरूको लागि प्रचुर सम्भावना रहेको बताउँदै उनले सरकारले विभिन्न कानुन र नियमहरू परिमार्जन गरेर सरकारको प्रतिबद्धतालाई झल्किएको बताएका हुन् ।

‘सुधारहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न सरकारसँग नजिकबाट सहकार्य गर्न निजी क्षेत्र प्रतिबद्ध छ । सरकारले आगामी दिनमा पनि लगानीकर्ताहरूको लागि अनुकूल वातावरण निर्माण गरी सहयोग जारी राख्नेछ भन्नेमा म आशावादी छु,’ उनले भने ।


क्लिकमान्डु