चिया व्यवसायी भेटे प्रधानमन्त्री, निर्यातमा देखिएको अवरोध अन्त्य गरिदिन आग्रह



काठमाडौं । भारतले नेपाली चियाको निर्यातमा अवरोध गरेको समस्याबारे चिया व्यवसायी र किसानले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार इलामका चिया व्यवसायी तथा किसानहरुले प्रधानमन्त्री दाहालसहित पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेंट गरेर समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।

सूर्योदय टि प्रोडयुर्सस एशोसिएसन(एसटीपीए) र नेपाल टि प्रोडयुर्सस एशोसिएसन(एनटीपीए) का पदाधिकारीसहितको टोलीले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री खनाललाई भेंटवार्ता गरेका थिए ।

चिया किसान र व्यवसायीहरुले नेपाली चियाको भारत निर्यातमा पटक पटक विभिन्न बहानामा भइरहेको अवरोधलाई कुटनीतिक रुपमा सदाको लागि अन्त्य गर्न आवश्यक पहल गरिदिन आग्रह गरेका थिए ।

भेंटवार्ताको क्रममा उनीहरुले नेपालमा उत्पादन भएको पहिलो सिजनको चियाको निर्यातलाई निरुत्साहित गर्न भारतको नाका पानीटेकिमा नेपाली चियालाई प्रत्येक गाडीबाट सतप्रतिशत गुणस्तर परीक्षण गरि निकासी गर्न दिने नयाँ नीति भारत सरकारले लिएको जानकारी गराएका थिए । यो नीतिका कारण गत् विहिबारदेखि नेपालबाट चिया भारत निर्यात हुन सकेको छैन ।

यो नीतिका कारण नेपालबाट भारततर्फ निर्यातका लागि पानीट्याँकी पुगेको १६ ट्रक बिहीबारदेखि उक्त नाकामा रोकिएका छन् । भारतीय पक्षले यो नीति कार्यान्वयनमा ल्याएर कडाइ गरेका कारण त्यो दिनदेखि नेपाली चिया भारत निर्यात हुन नसकेको ति दुवै संस्थाले जनाएको छ ।

भारतीय सीमामा सीटीसी चिया बोकेको ४ ट्रक र अर्थोडक्स चिया बोकेको १२ ट्रक सडकमा अलपत्र अवस्था रोकिएको छ । १६ ट्रकमा गरी झण्डै ५० करोडको चिया रहेको मैनालीले जानकारी दिए ।

यहि बिषयमा पूर्वप्रधानमन्त्री खनाल र प्रधानमन्त्री दाहालबिच बालुवाटारमा छलफल पनि भएको छ । डेढ वर्ष अघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो।


क्लिकमान्डु