सार्वजनिक भएन महालेखापरीक्षकको वार्षिक प्रतिवेदन



काठमाडौं । महालेखापरीक्षकको कार्यालयले बर्षेनी चैत महिना सार्वजनिक गर्दैआएको वार्षिक प्रतिवेदन यो वर्ष निर्धारित समयमा सार्वजनिक भएको छैन ।

कार्यालयले वर्षेनी चैतको अन्तिम सातामा यो प्रतिवेदन सार्वजनिक गर्दैआएको थियो । कार्यालयका निर्देशक तथा प्रवक्ता रमेश सुवेदीका अनुसार यो वर्ष कार्यालयको महालेखा परीक्षकमा अधिकारी नियुक्त गर्ने प्रक्रिया निक्कै ढिलो भएकाले गत् आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको हो ।

महालेखापरीक्षकमा तोयम रायालाई हालै सरकारले नियुक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा(२) अनुसार तोयम रायालाई बैशाख ६ गते महालेखा परीक्षकमा नियुक्त गरेका थिए । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो।

रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो। सुवेदीका अनुसार गत् आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तयार भइसकेको छ । तयार भइसकेको उक्त प्रतिवेदन महालेखापरीक्षक रायाले एक पटक हेरिसकेपछि राष्ट्रपति कार्यालय पठाइने छ । त्यसपछि मात्रै सार्वजनिक हुने कार्यालयले जनाएको छ ।


क्लिकमान्डु