सुरुङ ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्रीलाई रातो कार्पेट, सोफा र मेच राखेर कार्यक्रम ! (तस्बिरहरु)



काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रममा सहभागी भएका थिए ।

सोमबार सुरुङभित्र विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका छन् ।

उनीसँग यातायात मन्त्री रघुवीर महासेठ लगायत उपस्थित भएका थिए । प्रधानमन्त्री र मन्त्रीलाई सुरुङभित्रै रातो कार्पेटमा स्वागत गरिएको छ । साथै सुरुङभित्र बस्नका लागि सोफासमेत व्यवस्था गरिएको थियो भने सहभागीका लागि मेचहरु राखिएको थियो ।

जापानी सहयोग नियोग जाइकाको ऋण सहयोगमा बनिरहेको सुरुङ मार्ग निर्माणको ठेक्का जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको हो । त्यसैले हिन्दू र जापानी संस्कृति अनुसार विशेष पूजा गरि व्लास्ट गरेर मुख्य सुरुङमार्गको जोडिएको छ । त्यसक्रममा हिन्दू पुरोहितहरुले स्वस्तिवाचन गरेका थिए ।

सुरुङ मार्गमा करिब १ सय नेपाली इन्जिनियर र २ सय बढी कामदार खटिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ कात्तिकमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु गरिएको थियो ।

ब्रेक थ्रु गर्नका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको थियो । कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खन्ने काम यसअघि नै सकिएको र २ मिटर मात्रै खन्न बाँकी राखिएको जसलाई व्लास्ट गरिएको हो । सुरुङमार्ग जोडिए पनि सवारी सञ्चालनका लागि भने १ वर्षभन्दा धेरै समय लाग्ने जनाइएको छ ।


क्लिकमान्डु