भोलि नागढुंगा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने तयारी (फोटोफिचर)



काठमाडौं । सरकारले वैशाख ३ गते (भोलि) नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने तयारी छ ।

यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ । यहि २ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरेर सुरुङमार्गको पूर्वनागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोड्ने कार्यतालिका तयार पारिएको छ ।

जापानी कम्पनी हाजमा एण्डो कर्पोरेसनले बनाइरहेको सुरुङको जापानी संस्कृति र हिन्दू संस्कृति अनुसार पूजा गर्ने कार्यक्रम तय भएको छ ।

२ मिटर दूरीको क्षेत्र सुरक्षित रुपमा राखेर बैशाख ३ गते अन्तिम ब्रेक थ्रु गर्ने तयारी भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

त्रिभुवन राजमार्गको धादिङ्गको सिस्ने खोलादेखि सुरु भएको उक्त सुरुङ्गमार्ग काठमाडौंको चन्द्रागिरी वडा नम्बर २ को किसिपिडिसम्म अवस्थित छ ।

२ हजार ५ सय ५७ मिटर दूरी भएको आपतकालीन सुरुङ्गको ‘ब्रेक थ्रु’ भने गत साउन २२ गते सम्पन्न भइसकेको छ ।

यसअघि फागुन २२ गतेभित्र खन्न बाँकी रहेको १४ मिटर खनेर २३ गते ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर स्थानीयबासीको आन्दोलनका कारण फागुन २३ गते अन्तिम ‘ब्रेक थ्रु’ रोकिएको थियो । आन्दोलनका कारण गत् फागुन ६ गतेदेखि चैत ५ गतेसम्म गरी एक महिना पूर्णरुपमा काम ठप्प भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको नेतृत्वमा चैत ५ गते मन्त्रालयमा आन्दोलनकारीसँग ९ बुंदे सहमति भएपछि एक महिनापछि पुनः उक्त सुरुङ्गमार्गको निर्माण कार्य सुरु भएको हो ।

सन् २०१६ मा जापान सरकारसँग १६.८ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले अघि बढाएको यो परियोजना अन्तर्गत सुरुङ निर्माणसहितका काममा ११ अर्ब रुपियाँ जति खर्च भइसकेको अधिकारीहरू बताउँछन् ।

सुरुङ मार्ग प्रयोग गर्दा ‘शुल्क’ तिर्नुपर्ने र पेट्रोलियम गाडी र बाइकलाई प्रवेश निषेध गरिने छ ।


रवि धिताल