सुनको खपत गर्न चिनियाँ र भारतीयबीच प्रतिस्पर्धा: यी हुन् धेरै सुन खपत गर्ने २० देश



काठमाडौं । पछिल्लो समय दैनिक सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै गएको छ ।

आइतबार मात्रै प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार प्रतितोला ६ सय रुपैयाँले बढेर हालसम्मकै सबैभन्दा बढी कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका तथ्याङ्कअनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपालमा मात्रै नभएर विश्वबजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको अवस्थामा ठूला अर्थतन्त्र भएका देशहरुले सुनमा लगानी गरिरहेका छन् ।

विश्व सुन परिषद्को तथ्यांकअनुसार विश्वका देशमध्ये सबैभन्दा बढी सुन अमेरिकासँग रहेको छ । परिषद्को तथ्यांक अनुसार अमेरिकासँग ८ हजार १३३ टन सुन रहेको छ ।

अमेरिकापछि जर्मनीसँग ३ हजार ३५२ टन सुन मौजदात रहेको छ । त्यसपछि इटली, फ्रान्स, रुस र चीनसँग बढी सुन रिजर्भ भएको परिषद्को तथ्यांक छ । चीनसँग २ हजार २३५ टन सुन भएको तथ्यांक छ।

तथ्यांकमा सबैभन्दा बढी सुन अमेरिकासँग भए पनि खपत गर्नेमा भने चीन पहिलो रहेको छ । परिषद्ले सन् २०२२ मा खपत गरेको सुनको आधारमा सन् २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा बढी सुन खपत गर्नेमा चीन पहिलो स्थानमा रहेको छ ।

अमेरिका सुन रिजर्भमा पहिलो स्थानमा र छैंठौ नम्बरमा चीन रहेको छ तर खपतमा भने चीन पहिलो र नवौं स्थानमा रहेको भारत खपत बढी गर्नेको दोस्रो स्थानमा रहेको हो ।

चीनले सन् २०२२ मा ८ सय २४ टन सुन खपत गरेको परिषद्ले जनाएको छ । चीनले औसतमा वार्षिक ८ सय १९ टन सुन खपत गरेको पाइएको छ । चीनले सन् २०२१ मा ९ सय ९३ टन र सन् २०२० मा ६ सय ४१ टन सुन खपत गरेको थियो ।

चीनपछि भारतले सबैभन्दा बढी सुन खपत गरेको परिषद्को तथ्यांक छ । भारतले सन् २०२२ मा ७ सय ७४ टन सुन खपत गरेको थियो भने सन् २०२१ मा ७ सय ९७ टन र सन् २०२० मा ४ सय ४६ टन सुन खपत गरेको थियो । भारतमा वार्षिक औसतमा ६ सय ७२ टन खपत हुने गरेको परिषद्ले जनाएको छ ।

अमेरिकाले सन् २०२२ मा २ सय ५६ टन सुन खपत गरेको थियो । प्रतिवेदनअनुसार अमेरिकाले वार्षिक औसतमा २ सय ३५ टन सुन खपत गर्दै आएको छ । जर्मनीले वार्षिक १ सय ७८ टन सुन खपत गरेको छ । जर्मनीले सन् २०२२ मा १ सय ९६ टन सुन खपत गरेको थियो ।

साउदी अरेबियाले वार्षिक २ सय टन सुन खपत गर्दै आएको छ । उक्त देशले सन् २०२२ मा २ सय ६८ टन सुन खपत गरेको थियो । सन् २०२१ मा २ सय १९ टन र सन् २०२० मा १ सय ७२ टन सुन खपत गरेको विश्व सुन परिषद्को तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै जर्मनीले वार्षिक १ सय ७८ टन खपत गर्दै आएको छ । जर्मनीले सन् २०२२ मा १९६ टन खपत गरेको थियो । टर्कीले वार्षिक औसतमा १ सय २१ टन, इरानले ५९ र थाइल्यान्डले ५२ टन सुन खपत गर्दै आएको छ । थाइल्यान्डपछि रुसले सन् २०२२ मा ६० टन खपत गरेको थियो । उक्त देशले वार्षिक ४७ टन सुन खपत गर्दै आएको छ ।

भियतनामले वार्षिक ४७ टन सुन खपत गर्दै आएको छ । सन २०२२ मा ५९ टन सुन खपत गरेको थियो । वार्षिक औसतमा इन्डोनेसियाले ४४ टन, स्वीजरल्यान्डले ४३ टन, युएईले ३९ टन, दक्षिण कोरियाले ३५ टन, बेलायतले ३३ टन, इजिप्टले ३१ टन, अष्ट्रेलियाले २८ टन, क्यानाडाले २४ टन, कुवेतले १६ टन र मेक्सिकोले १४ टन सुन खपत गर्दै आएको छ ।


क्लिकमान्डु