किस्ताबन्दीमा बक्यौता तिरेर जहाज उडाउने गुण एयरको प्रस्ताव, एओसी जोगिए फ्लिट परिवर्तन



काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने ५ करोड रुपैयाँ बक्यौता किस्ताबन्दीमा तिरेर जहाज उडाउन पाउनुपर्ने माग गर्दै निवेदन दर्ता गराएको छ ।

गुण एयरलाइन्सले एक साता अगाडि दर्ता गराएको उक्त निवेदनमा मासिक न्युनतम २५ लाख रुपैयाँ तिर्ने उल्लेख गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

गुण एयरलाइन्सले नियामक निकायबाट तोकेको शर्त पालना गर्न नसकेका कारण पछिल्लो १३ महिनादेखि जहाज उडाउन सकेको छैन । यो वायुसेवा कम्पनीसँग भएका ७ वटा जहाज एक वर्षभन्दा लामो समयदेखि ग्राउण्डेड छन् ।

गुण एयरले १ करोड रुपैयाँ बैंक ग्यारेन्टी राखेर बाँकी रकम किस्ताबन्दीमा तिर्ने सुनिश्चित आधार पेश गर्न सकेको अबस्थामा प्राधिकरणले निलम्बनमा राखेके यसको उडान सञ्चालन अनुमति (एओसी)लाई फुकुवा गर्न सकिने आशय प्राधिकरणले दिएको छ । गुण एयरलाइन्सले यसअघि नै १ करोडको बैंक ग्यारेन्टी र ६५ लाख रुपैयाँ नगद बुझाइसकेको छ । अब फेरि १ करोडको बैंक ग्यारेन्टी बुझाएर बाँकी रकम किस्ताबन्दीमा तिर्न माग गर्दै प्राधिकरणलाई आग्रह गरेको हो ।

गुण एयरलाइन्सले एओसी जोगिए नयाँ प्रकारको जहाजमा जाने (फ्लिट परिवर्तन ) गर्ने जानकारी समेत दिएको छ । यो वायुसेवासँग १९ र २९ सीट क्षमताका मात्रै जहाज छन् । आन्तरिक उडानमा अन्या निजी क्षेत्रका वायुसेवासँग प्रतिस्पर्धा गर्न सक्ने गरी हाल नेपाली बजारमा चलेका ७२ सिट क्षमताका एटीआर प्रकृतिको जहाज ल्याउने पनि यो वायुसेवाले बताएको छ ।

गुण एयरलाइन्सको प्रस्ताव आएको भएपनि यसको निवेदन उपर हालसम्म कुनै निर्णय भने नभएको निरौलाले बताए । उनले क्लिकमान्डुसँग भने ‘हामीलाई तिर्नुपर्ने ५ करोडको बाँकी बक्यौता तिर्यो, १ करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेर आयो र कर्मचारीको दायित्व भुक्तानी गरेर हवाई उडान सुरक्षाको पालना गर्दै सेवा दिन चाहेमा रोक्नुपर्ने कारण आउँदैन ।’

गुण एयरलाइन्सले कर्मचारीको दायित्व भुक्तानी गर्न नसकेको, बाँकी बक्यौता बढ्दै गएको र वायुसेवा कम्पनी आर्थिक संकटमा फसेको कारण यसले हवाई उडान सुरक्षामा कजोरी गरेको भन्दै प्राधिकरणले गत २०७९ को फागुन ८ मा गुण एयरलाइन्सको उडानमा रोक लगाएको थियो।

एयरलाइन्सले कर्मचारीलाई तलब-भत्ता खुवाउन नसकेको, एयरलाइन्सको वित्तीय अवस्था कमजोर हुँदै जाँदा पाइलट, इन्जिनियर तथा कर्मचारीले नियमित पाउनुपर्ने तलब, अत्यावश्यक तालिम प्रभावित भएको र अत्यावश्यक पाटपुर्जा किन्न नसकेर उड्डयन सुरक्षा प्रभावित हुने भन्दै यसको उडानमै रोक लागेको थियो ।

प्राधिकरणले गत वर्ष फागुनमा ६ महिनासम्मको लागि गरेको उडान अनुमति (एओसी) निलम्बन एक वर्ष बितिसक्दासमेत खुल्न सकेको छैन। एओसी निलम्बनमा परेको लामो समयसम्म पनि पुनः उडान सुरु गर्न नसकेको र अझै उडानको सुनिश्चित आधार गुणले पेश गर्न नसकेको भन्दै प्राधिकरणले एओसी खारेज प्रक्रिया अघिबढाउन १ करोडको बैंक ग्यारेन्टी गत वर्ष नै जफत गरेको थियो ।

नागरिक उड्डयन निमायली २०५८ मा प्राधिकरणले ६ महिनासम्मलाई मात्रै उडान अनुमति निलम्बन गर्न सक्ने व्यवस्था छ । एओसी निलम्बनको उक्त व्यवस्थाअनुसार समय सकिएकोले एओसी खारेजी गर्ने प्रक्रिया अघि बढेपछि गुणले अन्तिम मौका मागेर प्राधिकरणसमक्ष निवेदन दिएको थियो।

तर यो वायुसेवाले एओसी निलम्बनमा परेको १३ महिनासम्म पनि वायुसेवाले पुनः उडान गर्ने नसकेको, कर्मचारीको दायित्व पूरा गर्ने नसकेको, प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता चुक्ता नगरेको, वायुसेवाले राखेको १ करोड बैंक ग्यारेन्टी जफत भइसक्दासमेत पुन: बैंक ग्यारेन्टीसहितका जहाज चलाउने आधार भने पेश गरेर नआएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले बैंक ग्यारेन्टी जफत गरेपछि गुण एयरलाइन्सले ४ मंसिर २०८० मा एओसी जोगाइदिन र मन्त्रालयबाट इजाजतपत्र नवीकरणसमेत गराउनुपर्ने समय भएकोले सिफारिस दिन माग गरेको थियो । गुणले प्राधिकरणलाई पठाएको उक्त पत्रमा गत महिनाबाट प्राधिकरणलाई तिर्न बाँकी रकममध्ये गत वर्ष बैंक ग्यारेन्टी जफत भएपछि मासिक ५० लाख रुपैयाँका दरले तिर्ने प्रतिवद्धतासमेत गरेको थियो ।

बैंक ग्यारेन्टीवापत १ करोड रुपैयाँ जम्मा गरेको र बाँकी रकमसमेत तिर्दै जाने प्रतिबद्धतासहित उडान अनुमति पुनः सुरु गर्न गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले माग गरेको पत्र प्राधिकरणमा पेस भएको छ ।

गुण एयारलाइन्सले इजाजत नवीकरण गर्नसमेत प्राधिकरणको बक्यौता रकम चुक्ता गर्नुपर्ने छ । प्राधिरकणले सिफारिश नगरेसम्मम मन्त्रालयबाट इजाजतपत्र नवीकरण हुँदैन भने सिफारिशका लागि प्राधिरकणको बाँकी बक्यौता चुक्ता गर्नुपर्ने हुन्छ ।

९ वर्षअघि घरजग्गा व्यवसायमा समस्या आएपछि गुण ग्रुपको नाममा सञ्चालित गुण एयरलाइन्सको बहुमत सेयर सिम्रिक एयरले किनेको थियो । करिब ७ वर्ष सिम्रिक एयरलाइन्सका नाममा उडेको जहाजलाई गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यले कोरोना महामारीपछि पुनः फिर्ता ल्याउन सफल त भए । तर, उचित व्यवस्थापन मिलाउन नसक्दा फेरि एयरलाइन्स डुब्ने अवस्थामा पुगेको हो ।

शाक्यले व्यवहारिकरुपमा संभाव्यता (कमर्सियल भायबल) नभएका जहाज खरिद गरेको र प्रतिस्पर्धी बजारमा टिक्न नसकेका कारण गुण एयरलाइन्स चलाउन नसकेको उड्डयन क्षेत्रका जानकाहरू बताउँछन् ।

’घरजग्गा व्यवसायबाट समस्यामा परेका उनले आफ्नो एयरलाइन्सलाई ‘बाउन्स ब्याक’ गरेर रिब्रान्डिङ गरेपछि बजार सुहाँउदो र अरु वायुसेवासँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने थियो,’ उड्डयन क्षेत्रका एक जनाकारले भने, ‘तर गुणले आउटडेटेड जहाज खरिद गर्नुले पनि थप समस्या सिर्जना गर्‍यो ।’

रिब्रान्डिङ गर्ने क्रममा यती एयरलाइन्सका ५ वटा जहाज खरिदमा १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएको गुण एयरलान्सको भनाइ छ । कम्पनीले ७ वटा जहाज जम्मा पारेको भए पनि एकैसाथ भने ४ वटासम्म मात्रै जहाज उडाउन सकेको थियो । यो वायुसेवाले जहाज उडाउँदा २ वटा डोर्नियरमा एउटामात्रै उड्ने र ५ वटा जेटस्ट्रिममा २ वटामात्रै उडाउन सकेको थियो ।

१९ र २९ सिट क्षमताका यसका जहाजले ७२ सिट क्षमताको अरु वायुसेवाका जहाजसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बन्यो । धेरै यात्रु बोक्ने वायुसेवाको भन्दा गुणका विमानको भाडादर महंगो भएपछि प्रतिस्पर्धामा समस्या भएको र यसले गर्दा टिक्न नसकेको प्राधिकरणकै अधिकारी बताउँछन् ।

गुण एयरलाइन्ससँग २ वटा १९ सिट क्षमताको बिचक्राफ्ट , ३० सिटको १ र २९ सिट क्षमताका ४ वटा जेटस्ट्रिम गरी ७ वटा जहाज छन् । यीमध्ये ५ वटा जेटस्ट्रिम नामका जहाज ४ वर्ष अगाडिमात्रै यती एयरलाइन्ससँग खरिद गरेको थियो । यो वायुसेवासँग भएको अर्को २ जहाज भने सिम्रिक एयरलाइन्सबाट लिएको हो ।

गुण एयरलाइन्सले भने ५ वटा जेटस्ट्रिम बिक्री गरेर नयाँ विकल्पको खोजी गर्न खोजेको बताएको छ । २३० जना कर्मचारी राखेर सञ्चालन भइरहेको गुण एयरलाइन्स बन्द भएपछि यसले अब बजारमा प्रतिस्पर्धा गर्न सक्ने एटीआर वा सो क्षमताको जहाज ल्याउने बताएको छ ।

गुण एयरलाइन्सका कार्यकारी अध्यक्ष राजेन्द्र शाक्यले मासिक किस्ता तिरेर नियामकको बक्यौता चुक्ता गर्दै जाने र जहाज पनि उडाउने प्रयास भइरहेको बताए ।

शाक्यले भने ‘गुणले मासिक २५ लाख रुपैयाँ तिर्दै बाँकी बक्यौता घटाउँदै जाने र जहाज पनि उडान गर्दै जाने गरि तयारी गरेको बताए ।’


क्लिकमान्डु