वित्तीय अपराधमा चिनियाँको संलग्नता बढ्दोः सुन तस्करीदेखि अवैध मुद्राको कारोबारसम्म



काठमाडौं । नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै जाँदा वित्तीय अपराधको क्षेत्रमा पनि चिनियाँहरुको संलग्नता बढ्दै गएको छ ।

२०७२ सालमा भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि उत्तरतर्फ ढल्किएको नेपालमा पछिल्लो वर्षहरुमा राजनीति, वैदेशिक लगानी तथा व्यापारमा चिनियाँ प्रभाव बढिरहँदा अपराधमा पनि चिनियाँ नागरिकहरुको संलग्नता बढेको हो।

गत आव २०७९/०८० मा विभिन्न अपराधमा १३१ जना विदेशी नागरिकहरु नेपालमा पक्राउ परेका थिए । यीमध्ये ४२ जना चिनियाँ नागरिक रहेको प्रहरीको तथ्यांकले देखाउँछ ।

पछिल्लो समय चिनियाँ नागरिकहरुको संलग्नता सुन तस्करीजस्ता संगठित अपराधदेखि प्रविधिको प्रयोगबाट हुने अपराधहरुमा पनि देखिन थालेको छ ।

द्वीदेशीय अपराध अनुसान्धानमा लामो अनुभव भएका नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्तमल्ल ठकुरी पछिल्लो समयमा आर्थिक विषयसँग जोडिएका अपराधहरुमा चिनियाँ अपराधीहरुको संलग्नता देखिनु जोखिमपूर्ण रहेको बताउँछन् ।

‘लगानी बढ्नु भनेको राम्रो हो एक किसिमले’, उनी भन्छन्, ‘तर, यो बीचमा हेर्दा जति पनि विदेशी मुद्रा सम्बन्धि अपराधमा समातिएका छन्, तिनीहरुमा धेरै चिनियाँहरुको संलग्नता देखिएको छ ।’

यस्तै, पहिला सुनको तस्करीको घटनाहरु पूर्वी एसियाबाट हुन्थ्यो भने हाल त्यो उत्तरतर्फबाट भइरहेको उनको भनाइ छ । ‘अवैध वन्यजन्तुको ओसार पसारमा पनि चिनियाँ अपराधीहरु संलग्न छन्,’ उनी भन्छन्, ‘यस्तै, प्रविधिजन्य अपराधमा पनि चिनियाँ नागरिकको संलग्नता देखिएको छ ।’

पछिल्लो पटकको ठूलो सुन तस्करीको घटनामा पनि चिनियाँ नागरिकहरुको संलग्नता रहेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको थियो ।

गत साउनमा राजस्व अनुसन्धान विभागले हङकङबाट आएको ‘ब्रेक सु’मार्फत भएको १५५ किलो सुन तस्करीसँग सम्बन्धित रहेको आरोपमा दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको थियो । सोही सुन प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ हुनुअघि अर्का चिनियाँ नागरिक ज्यास्यांग लिनलाई पनि पक्राउ गरिएको थियो ।

त्यस्तै, अवैध रुपमा लुकाई छिपाई विदेशी मुद्रा नेपाल बाहिर लैजान खोजेको आरोपमा पनि चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

गत साउनमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक लैजान लागेको १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक होंग होंगलाई पक्राउ गरिएको थियो ।

गत असारमा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ र २ हजार चिनियाँ युआनसहित दुई जना चिनियाँ नागरिक झु झियानछियान र झु जिनफांग पक्राउ परेका थिए ।

त्यसको एक महिनाअघि गत जेठमा अवैध अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाईपासमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक झाओ जिआंगपेंगलाई पक्राउ गरिएको थियो ।

पछिल्लो पटक फाल्गुन २२ गते अवैध रुपमा बाह्य मुलुक लैजान लागिएको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक चुइ बिंगचान पक्राउ परेका थिए ।

नेपाल प्रहरीको तथ्यांककाअनुसार आर्थिक वर्ष २०७८/०७८ मा अवैध मुद्रासँग सम्बन्धित कसुरमा ४ चिनियाँ नागरिक पक्राउ परेका थिए भने गत आर्थिक वर्ष २०७९/०८० मा २ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ परेको थियो ।

प्रहरीको तथ्यांकअनुसार नेपालमा अपराधिक गतिविधिमा भारतपछि चिनियाँहरुको संलग्नता उच्च रहेको छ ।

२०७६ भदौमा काठमाडौंमा बैंकको एटिएम कार्डबाट रकम चोरी गरेको आरोपमा चिनियाँहरुको एक समूह नै समातिएको थियो।

त्यस्तै, सोही वर्ष पुस ७ गते १२२ जना चीनियाँ नागरिकहरुलाई समातिएको थियो । तर, उक्त घटनामा अध्यागमनको कानुन आकर्षित भएपछि सरकारले ती चिनियाँ नागरिकहरुलाई अध्यागमन विभागमै बुझाएको थियो । उनीहरुलाई चीनले एउटा हवाइ जहाजमार्फत आफनै देश फर्काएको थियो । यो तथ्यांक प्रहरीको अभिलेखमा जोडिएको छैन ।

यस्ता घटनाहरु बाहेक प्रहरीको अभिलेखमा रहेका घटनाहरुमा हेर्ने हो भने पछिल्लो पाँच वर्षमा नेपालमा पक्राउ परेका भारतीय बाहेकका ३३२ जना विदेशी नागरिकहरुमध्येमा चिनियाँहरुको संख्या १ सय रहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि आव २०७९/०८० सम्म पछिल्ला पाँच वर्षमा पक्राउ परेका विदेशी नागरिकहरुमध्येमा ३० प्रतिशतभन्दा धेरै चिनियाँ नागरिकहरु रहेका छन् ।

तथ्यांककाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा पक्राउ परेका ५३ जनामध्ये १५ जना चिनियाँ नागरिकहरु थिए । आव २०७९/०८० मा आईपुग्दा १८० प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षमा ४२ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन्।

अपराधिक गतिविधिमा पनि चिनियाँहरुको संलग्नता वित्तीय अपराधमा बढी संलग्न रहेको देखिन्छ ।

आव २०७५/०७६ मा नेपालमा अपराध गरेको आरोपमा १५ जना चिनियाँ नागरिकहरु पक्राउ परेका थिए । यीमध्ये १ जना भन्सार छलि, २ जना ठगी र १ जना अवैध मुद्राको आरोपमा पक्राउ परेका थिए ।

त्यस्तै, आव २०७६/०७७ मा नेपालमा कुल पक्राउ परेका ४३ जना विदेशी नागरिकमध्ये १४ जना चिनियाँ नागरिकहरु थिए । १४ जनामध्ये ९ जना चिनियाँ वित्तिय अपराधसँग सम्बन्धित विषयमा पक्राउ परेका थिए । जसमा ५ जना चिनियाँ नागरिक बैंकिंग कसुर, २ जना किर्ते र २ जना ठगीको मुद्दामा पक्राउ परेका थिए ।

आव २०७७/०७८ मा नेपालमा २८ जना विदेशी नागरिक पक्राउ पर्दा १३ जना चिनियाँहरु थिए । १३ जना मध्ये पनि १ जना बैंकिंग कसुर र १ जना किर्तेमा गरि दुई चिनियाँ नागरिक वित्तिय संलग्नताका अपराधमा पक्राउ परेका थिए ।

यसैगरि, आर्थिक वर्ष २०७८/०७९ मा कुल ७७ जना विदेशी नागरिकहरु पक्राउ परेकोमा १६ जना चीनियाँ नागरिकहरु पक्राउ परेका थिए । पक्राउ परेका १६ जना चिनियाँमध्ये वित्तिय अपराधमा संलग्न ८ जना रहेका छन् । जसमा ३ जना भन्सार छलि, १ जना बैंकिग कसुर र ४ जना चिनियाँ अवैध मुद्रामा पक्राउ परेका थिए ।

त्यस्तै, गत आर्थिक वर्ष २०७९/०८० मा १३१ जना विदेशी नागरिक नेपालमा पक्राउ परेकोमा ४२ जना चीनियाँ नागरिक रहेका छन् । यी ४२ जनामध्ये पनि भन्सार छलीमा १ जना, ठगीमा ९ जना, अवैध मुद्रामा २ जना, चोरी १ जना, कल बाइपास १ जना, संगठीत अपराध ५ जना, दुरसञ्चार हानी नोक्सानीमा १ जना र बैंकिग ऐन सम्बन्धी कसुरमा २ जना गरि वित्तीय क्षेत्रसँग संलग्न अपराधमा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

चालु आर्थिक वर्षमा पनि सुन तस्करीजस्ता संगठीत अपराधदेखि अवैध रुपमा मुद्रा विदेश लैजान खोजेकोजस्ता अपराधमा चिनियाँ नागरिकहरु पक्राउ परिरहेका छन् ।

कारगार व्यवस्थापन विभागकाअनुसार देशभरका कारागारहरुमा रहेका करिब १ हजार ४ सय विदेशी कैदिहरुमध्ये कम्तीमा ४० कैदिहरु चिनियाँ नागरिक रहेका छन् ।

पूर्व डिआईजी ठकुरी प्रविधिदेखि संगठित अपराधका गतिविधिहरुमा चिनियाँहरुको संगलनता बढ्दै जाँदा नेपालको सुरक्षा प्रणाली चनाखो हुनुपर्ने बताउँछन् । र यसका लागि दुई देशबीचको कानुन पालना गराउने निकायबीचको समन्वय पनि उत्तिकै आवश्यक हुने उनी बताउँछन् ।

‘दुई देशको कानुन पालना गराउने एजेन्सीबीच समन्वय हुनुपर्ने हो,’ उनी भन्छन्, ‘तर, समन्वय त्यत्ति राम्रो छ जस्तो लाग्दैन ।’
दुई देशका सुरक्षा निकायबीच भारतसँगको समन्वयको विषयमा धेरै जटिलता नभएको बताउँदै ठकुरी उत्तर(चीन)सँगको समन्वयमा भने ग्याप रहेको बताउँछन् ।

‘प्रविधिजन्य कसुरहरुमा चिनियाँहरुको संख्या बढिरहेको छ,’ ठकुरी भन्छन्, ‘तस्करीदेखि अन्य कुरामा, जहाँ पैसा जोडिन्छ, त्यहाँ चिनियाँ संलग्नता देखिएको छ ।’

विश्वभर व्यापार जसरी फैलिरहेको छ, त्यसबाट चिनियाँहरुको मुभमेन्ट पनि बढेको छ । जसका कारण नेपालमा पनि अपराधका घटनामा चिनियाँहरुको संलग्नता बढेको देखिन थालेको उनको बुझाइ छ ।

अपराधमा चिनियाँ संलग्नता बढिरहँदा दुई देशबीचको कानुन पालना गराउने निकायको संलग्नता महत्वपूर्ण हुने पूर्व डिआईजि मल्ल ठकुरी बताउँछन् ।

‘अहिलेको जमाना भनेको प्रविधिको जमाना हो । प्रविधिमा नेपालमा लगानी पर्याप्त छैन’, उनी भन्छन्, ‘यस्तोमा थप अपराध हुने जोखिम पनि बढिरहेका कारण बढिभन्दा बढी समन्वय चाहिन्छ ।’

चीनलाई चाहिँदा उसले ढोका खोल्ने र हामीलाई चाहिँदा ढोका नखोल्ने जस्तो भयो भने असहज हुने उनी बताउँछन् । ‘चीनसँग धेरै समन्वय छ जस्तो मलाई अहिले पनि लाग्दैन,’ उनी भन्छन्, त्यसैले, हाम्रो कानुन पालना गराउने संस्था र सरकारले दुई देशको ल इन्फोर्समेन्ट एजेन्सीबीच समन्वय बनाउनुपर्ने हुन्छ ।’

हाल यस्तो समन्वयको धेरै आवश्यकता देखिएको भन्दै उनी नियमित समन्वय हुने अवस्था सिर्जना गर्नु पर्ने बताउँछन् ।


युवराज भट्टराई