कांग्रेस बागमती प्रदेश सरकारबाट बाहिरियो, ६ मन्त्रीले दिए राजीनामा



काठमाडौं । संघीय सरकारमा गठबन्धन फेरिएसँगै प्रदेश सरकारहरुमा पनि समस्या देखिएको छ ।

संघमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन छाडेर एमाले लगायतका दलसँग नयाँ गठबन्धनन बनाएसँगै प्रदेश सरकारहरुमा पनि प्रभाव देखिएको छ ।

यसैबीच बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ । कांग्रेसका ६ मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका ६ मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन् ।

कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पदबाट राजीनामा दिएका हुन् ।

पदबाट राजीनामा दिएसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ ।


क्लिकमान्डु