नयाँ मन्त्रीहरुको नाम टुंगो लाग्यो, कसले के पाए ?



काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरूले आफ्नो पार्टीलाई परेको मन्त्रालय अनुसार मन्त्रीको सूची तयार पारेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा नेकपा एमालेको भागमा ८ मन्त्रालय परेको छ। नेकपा माओवादी केन्द्रको भागमा ५, राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा ४ मन्त्रालय परेको छ ।

नयाँ सत्ता समिकरणमा जनता समाजवाद, नेकपा (एकीकृत समाजवादी) लगायतका दल रहेका छन् । दुवै दलले मन्त्रीको नाम टुंग्याएका छैनन् ।

नेकपा एस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरुले आज साँझ ५ बजे सपथ लिने छन् ।

एमालेले पाएको ८ मन्त्रालयको नेतृत्व पार्टी सचिव रघुवीर महासेठले गर्ने छन् । महासेठको भागमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय, राजेन्द्रकुमार राईको भागमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पदम गिरीलाई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी बलराम अधिकारीलाई दिइएको छ ।

यस्तै भगवती चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, हरि उप्रेतीलाई रक्षा मन्त्रालय र ज्वालाकुमारी साहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीको भागमा ५ मन्त्रालय परेका छन् । नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्तिबहादुर बस्नेतलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री र हितबहादुर तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । बस्नेत र शर्मा दोहोरिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा ४ वटा मन्त्रालय परेको छ । रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुँदैछ । लामिछाने उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि, बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद र डोलप्रसाद अर्याल (डिपी)लाई श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ ।


क्लिकमान्डु