अर्थमन्त्रालयमा एमाले र माओवादी दुबैको दाबी, को बन्ला अर्थमन्त्री ?



काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र दुवै दलले अर्थमन्त्रालयमा दाबी गरेका छन् । कांग्रेस लगायतका दलहरुसँगको सत्ता गठबन्धन टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसँगको गठबन्ध बनाएपछि सरकार पुनर्गठनको तयारी भएको छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै नयाँ गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डाका लागि छलफल चलिरहेको छ ।

आज बिहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले प्रारम्भिक मन्त्रिपरिषद्मा पदम गिरीलाई पठाउने निर्णय भएको छ । एमाले स्रोतका अनुसार बैठकमा अर्थमन्त्रालय पार्टीले छाड्न नहुनेमा गठबन्धनमा अडान राख्ने छलफल भएको छ ।

‘उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । यसो हुँदा उहाँले उपप्रधानसहित अर्थमन्त्रालयमा दाबी गर्ने कुरा स्वभाविक हुन्छ’ उनले भने ।

तर, सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले पनि अर्थमन्त्रालयमा दाबी गरिरहेको छ । यसअघिको कांग्रेससँगको गठबन्धन टुट्नुमा अर्थमन्त्री नै प्रमुख कारण भएकाले प्रधानमन्त्री दाहाल कुनै पनि हालतमा अर्थमन्त्रालय नछाड्ने पक्षमा छ ।

प्रारम्भिक रुपमा पार्टीबाट हितमान तामाङ सरकारमा जाने भए पनि माओवादीबाट वर्षमान पुन पनि सरकारमा सहभागी हुने तयारी माओवादीको छ । उनलाई अर्थमन्त्री बनाउने तयारी माओवादीको छ ।

गठबन्धन दलहरुबीच कुन कुन मन्त्रालय कसले लिने भन्नेमा छलफल जारी रहेको छ । तर प्रमुख दलहरुले महत्वपूर्ण मन्त्रालयमा दाबी गरिरहेका छन् ।

एमालेले गृह र अर्थमन्त्रालय छाड्न नसकिने बताइरहेको छ । तर गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दाबी छ । एमालेका अर्का एक नेता अर्थ वा गृह मध्ये एउटा कुनै हातलमा पार्टीले नछाड्ने बताउँछन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल तीनपटक अर्थमन्त्री बनिसकेका छन् भने माओवादी उपमहासचिव पुन एक पटक अर्थमन्त्री बनिसकेका छन् । पौडेल एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् भने पुन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डका विश्वासपात्र हुन् ।


क्लिकमान्डु