गृह मन्त्रालय कसले लिने भन्नेमा एमाले र रास्वपाबीच रस्साकस्सी



फाइल फोटो

काठमाडौं । नयाँ गठबन्धनमा गृह मन्त्रालय कसले लिने भन्ने विषयमा विवाद देखिएको छ । नयाँ सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले र तेस्रो दल रास्वपाबीच गृहमन्त्रालय कसले लिने भन्ने रस्साक्सी बढेको हो ।

गत वर्षको पुस १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा भएको सहमतिमा गठबन्धन पुगेको बताइरहँदा रास्वपाले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेको हो । त्यतिबेला रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका थिए ।

त्यसैलाई आधार मानेर रास्वपाले उपप्रधानसहित गृह मन्त्री आफूहरुले पाउनुपर्ने अडान राखेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैंले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन् । लामिछानेको दलले प्रारम्भिक चरणमा उपसभापति डीपी अर्याललाई सरकारमा पठाउने तयारी गरेको छ ।

तर, एमालेले पनि गृहमन्त्रीमा आफ्नो दाबी राखिरेहको छ । अर्थमन्त्री माओवादीले राख्ने भएपछि एमालेले अर्को महत्वपूर्ण मन्त्रालय नछाड्ने अडान राखेको हो । एकीकृत माओवादीका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने सम्भावना बलियो छ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान कायम राखेका छन् । तर, रास्वपा सांसद मनिष झा भने लामिछाने सरकारमा प्रारम्भिक रुपमा सहभागी नहुने कुरा प्राविधक विषय भएको बताउँछन् । त्यसलाई आधार मानेर असन्तुष्टी वा बिरोध भन्न नमिल्ने उनको भनाइ छ।

गठन्धनमा सहभागी हुने अन्य दल र ति दलबाट सहभागी हुने नेताहरुको पोर्टफोलियो हेरेर पार्टी निर्णयमा पुग्ने उनी बताउँछन् ।

एमालेका एक नेताले गृहमन्त्रालयमा रास्वपा र आफूहरुले दाबी गरिरहे पनि समस्या भने नरहेको दाबी गरे ।

यसैबीच गठबन्धनभित्र दलहरुले पाउने मन्त्राललगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।


क्लिकमान्डु