नेपालका बैंक डुब्छन् कि डुब्दैनन् ?



अहिले नेपालमा केहि व्यक्ति फलानो बैंक डुब्छभन्दै बिभिन्न मिडियामा बोलिरहेका भेटिन्छन् भने केहि बैंकिङ तथा आर्थिक क्षेत्रभन्दा बाहिरका विज्ञहरुले तथ्यभन्दा बाहिरका कुराहरु गरिदिनाले भ्रम पैदा हुनपुगि बैंकप्रति नकारात्मक वातावरण बन्न पुगेको छ ।

जसरी कुनै एकजना इन्जिनियर वा पाइलटले आफू पढे लेखेको भयो भन्दैमा कुनै बिरामीलाई पेटको अपरेशन गर्नुपर्छ भनेर सल्लाह दिँदा गलत हुनसक्छ, त्यसरी नै एउटा क्षेत्रको विज्ञले अर्को क्षेत्रको विश्लेषण गर्दा गलत सूचना प्रवाह हुन सक्छ । मानिस सबै क्षेत्रमा विज्ञ हुँदैन र यो विज्ञ शब्दसँग एउटा ठूलो जिम्मेवारी पनि जोडिएको हुनाले यसतर्फ सजग हुनुपर्छ ।

गत वर्ष अमेरिकाको सिलिकन भ्याली बैंक असफल भएको थियो । बैंकको असफलतापछि जे. एन्थोनी कुकसनको अनुसन्धानले बैंक असफल हुनुमा सामाजिक सञ्जालको ठूलो भूमिका रहेको निष्कर्ष निकालेको थियो । कुकसनको अनुसन्धानमा त्यतिबेला मानिसहरुले सिलिकन डुब्न लाग्यो भन्दै ट्विटर, फेसबुक जस्ता बिभिन्न सामाजिक सञ्जालहरुमा पोष्ट गरेका कारण बैंकले निक्षेपकर्ताहरुको विश्वास गुमाएको बताएका छन् ।

के बैंक डुब्छ त?

यसमा कुनै दुईमत छैन कि, बैंक पनि डुब्न सक्छ । बैंक डुब्दैन भन्न मिल्दैन र संसारमा बिभिन्न समयमा बिभिन्न बैंकहरु डुबेका उदाहरणहरु पाउन सकिन्छ । मानिस पनि मर्छ तर, अहिल्यै वा केहि समयमा मर्छ भनेर ठोकुवा गर्नको लागि या कुनै ठूलो दुर्घटना हुनुपर्छ या कुनै रोग लागेको जानकारी हुनुपर्छ त्यसैगरी बैंक डुबिहाल्छ भन्नको लागि पनि त्यस्तै विशेष कारणको बारेमा जानकारी हुनुपर्छ । नेपालमा बैंकको बिरामीको जानकारी राखिराख्ने डाक्टर भनेको नेपाल राष्ट्र बैंक हो जसले नियमित रुपमा बैंकहरुलाई जाँचिरहेको हुन्छ ।

यदि कुनै बैंक समस्यामा पर्न लागेको छ भन्ने नेपाल राष्ट्र बैंकलाई लाग्यो भने त्यसलाई सुधार गर्नको लागि सचेत वा निर्देशन बैंकलाई दिन्छ जस्तै कुनै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष पुर्‍याउन सकेन भने बैंकको अवस्थालाई मध्यनजर गरेर बैंकलाई शिघ्र सुधारात्मक कारबाही प्रक्रिया अगाडि बढाउँछ ।

जस अन्तर्गत बैंकका उच्च ब्यवस्थापनसँग छलफल गर्ने, पुँजीकोष पुर्याउन निर्देशन दिने, पुँजीकोष योजना माग्ने र सोही अनुसार कार्यान्यवन भए नभएको यकिन गर्ने, नयाँ शाखा बिस्तारमा रोक लगाउने, नगद तथा बोनस सेयर बितरणमा रोक लगाउने, सम्बन्धित संस्थाको सञ्चालक तथा उच्च ब्यवस्थापकको भत्ता, तलब तथा सुविधा वृद्धिमा रोक लगाउने, थप निक्षेप स्वीकार गर्न नदिने काम गर्छ । त्यस्तै नयाँ ब्यवसायिक क्रियाकलापमा रोक लगाउने, कर्जा बिस्तारमा रोक लगाउने, कर्मचारीको तलब वृद्धिमा रोक लगाउने लगायतका अन्य निर्देशनहरु दिनुको साथै नेपाल राष्ट्र बैंक आफैंले बैंकको ब्यवस्थापन नियन्त्रणमा लिने आदि कदम चाल्न सक्छ भने निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा बढी भयो शाखा बिस्तारमा रोक लगाउने, नेपाल राष्ट्र बैंकबाट प्रदान गरिन सुविधाहरु रोक्ने जस्ता कार्यहरु गर्नसक्छ । तर, अहिले नेपालमा बैंकहरुको अवस्था बिग्रिएर ठूलो कारबाही गर्नुपर्ने अवस्था रहेको देखिँदैन ।

संसारभर बैंक डुब्नुको मुख्य कारणहरुमा अधिक खराब कर्जा, संस्थागत सुशासनको कमी, राजनीतिक हस्तक्षेप, खराब ब्यवस्थापन, कर्जाका लगानीका क्षेत्रहरुमा विविधीकरण नभई एकै क्षेत्रमा अधिक लगानी गर्नु, युद्ध तथा खराब आर्थिक वातावरण, जालसाँजी आदि रहेको पाइन्छ । अहिले नेपालका बैंकहरुमा यस्ता कुनै कारणहरु रहेको पाइँदैन । किनभने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकदमै नजिकबाट नियमन र सुपरिवेक्षण गरिरहेको छ ।

के बैंक डुबेर निक्षेपकर्ताहरुको निक्षेप डुब्छ त ?

बिक्रम सम्बत १९९३ मा नेपाल बैंकको स्थापना भएदेखि ८७ वर्षको अवधिसम्म बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा समस्या आएको भए पनि अहिलेसम्म निक्षेपकर्ताहरुको निक्षेप डुबेको छैन । ति सबै निक्षेपहरु निक्षेपकर्ताहरुलाई फिर्ता गर्न बैंक तथा वित्तीय संस्थाहरु सफल भएका छन् । अझै अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरुले ५ लाखसम्मको साना निक्षेपकर्ताहरुको निक्षेप सुरक्षण गराएको हुनाले साना निक्षेपकर्ताहरुको निक्षेप डुब्ने सम्भावना देखिँदैन भने नेपालमा बैंकहरुले प्रायजसो चलअचल सम्पत्ति सुरक्षण लिएर लगानी गरेकोले पनि तुलनात्मक रुपमा नेपालका बैंकहरु सुरक्षित मानिन्छन् ।

२०८० असारसम्म नेपालमा ५ करोड ११ लाख निक्षेप खाता रहेकोमा सो मध्ये ५ करोडसम्मको ४ करोड १३ लाख साना निक्षेपकर्ताहरुको निक्षेप खाताहरुको निक्षेप सुरक्षण गरिएको तथ्याङ्कले देखाउँछ । जुन जम्मा निक्षेप खाताहरुको करिब ८१ प्रतिशत हो भने बाँकी रहेका १९ प्रतिशत खाता भने केहि ठूला र संस्थागत निक्षेपहरुको सुरक्षण भएको छैन ।

बैंक डुब्यो भने के हुन्छ ?

यदि बैंक डुब्यो भने सर्वप्रथम बैंकले सम्पत्ति सुरक्षण राखेर कर्जा दिएका बैंकका साहुहरुलाई भुक्तानी गर्नुपर्छ त्यसपछि कर्मचारीहरुको तलब, त्यसपछि कर अनि त्यसपछि निक्षेपकर्ताहरुको निक्षेप फिर्ता गर्ने दायित्व रहन्छ । निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी भएपछि मात्र अन्य साहुहरु, प्रिफेरेन्स सेयर आदिको भुक्तानी गर्दै त्यसपछि भने सर्वसाधारण र संस्थापक सेयरधनीहरुले भुक्तानी पाउँछन् । यो भुक्तानीको प्राथमिकताले पनि निक्षेपकर्ताहरुलाई सुरक्षित राख्ने प्रयास गरेको छ ।

अहिले जनवरी २०२४ को तथ्याङ्क अनुसार नेपालका बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेप ६१३१ अर्ब, कूल कर्जा ५०८४ अर्ब रहेको छ भने सेयर पुँजीकोष ७१९ अर्ब रहेको छ । जुन निक्षेपको ११.७३ प्रतिशत रहेको देखिन्छ । त्यसैगरि कर्जा नोक्सानी जोखिम बापत २१८ अर्ब अर्थात कूल कर्जाको ४.२९ प्रतिशत नोक्सानी ब्यवस्था गरिसकेको अवस्था रहेको छ । यो तथ्यांकले पनि निक्षेपकर्ताहरुले निक्षेप धेरै हदसम्म सुरक्षित रहेको बुझ्न कठिन छैन । किनभने, निक्षेपकर्ताहरुले निक्षेप फिर्ता नपाउँदासम्म सेयर धनीहरुले रकम फिर्ता पाउँने सम्भावना रहँदैन ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको जोखिम न्यूनीकरण गर्ने उदेश्यले प्रत्येक वर्ष खुद मुनाफाको २० प्रतिशत रकम रिजर्भ फण्डमा अनिवार्य राख्नुपर्ने ब्यवस्था गरेको छ र यस्तो रकम सेयर धनीहरुलाई बितरण गर्न पाउँदैन । यसै ब्यवस्थाले गर्दा अहिले बैंक तथा वित्तीय संस्थाहरुको जम्मा चुक्ता पुँजी ४३६ अर्ब रहेकोमा रिजर्भ र मुनाफामा २८३ अर्ब अर्थात चुक्ता पुँजीको झण्डै ६५ प्रतिशत रकम भइसकेको छ । जसले गर्दा पनि बैंक तथा वित्तीय संस्थालाई मजबुत बनाएको छ । बाणिज्य बैंकहरुको मात्र कुरा गर्ने हो भने चुक्ता पुंजी ३७८ अर्ब तथा रिजर्भ र मुनाफामा चुक्ता पुंजीको ७० प्रतिशत जति रकम २६५ अर्ब रकम रहेकोले अहिले बैंकहरुको मुनाफामा गिरावट आइरहँदा पनि पुंजीकोषकमा राम्रो रकम रहेको कारणले निक्षेपकर्ताहरुको हकहितको संरक्षणलाई ठूलो मद्दत गरिरहेको छ ।

यसरी बैंकको आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक, बैंकको लेखापरीक्षण समिति, जोखिम ब्यवस्थापन समिति तथा नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणबाट बैंकको सञ्चालनलाई सुक्ष्म तरिकाले नियमन र नियन्त्रण गर्ने हुनाले नेपालमा बैंक तथा वित्तीय संस्थाहरुलाई एकदमै पारदर्शी मानिने क्षेत्रको रुपमा लिने गरिएको छ । नेपाल राष्ट्र बैंकको अफसाईट र अनसाईट निरीक्षणमार्फत बैंकका गतिबिधिहरु नजिकबाट नियालिरहेको हुन्छ । ग्राहकरुको निक्षेपलाई सुरक्षा गर्न निर्देशनअनुसार काम भइरहेको छ कि छैन भनेर अनुगमनका साथै बैंकहरुलाई निर्देशन दिने र दिएको निर्देशनको लागि समेत कार्यान्यवनको लागि सचेत गराउने भएकोले हालसम्म नेपालका बैंकहरु राम्रो कार्यसम्पाद गर्न सफल भएका छन् ।

सन् १९९७–९८ मा एशियाका बैंकहरुमा संकट आउँदा होस् वा २००७–०८ को विश्वव्यापी आर्थिक संकटमा होस् वा कोरोना माहामारीपछिको अवस्थामा होस् नेपालका बैंकहरुले यि सबै प्रतिकूल अवस्था पनि डटेरै सामना गरे र सवल पनि ठहरिए । सन् २००० ताका ६० प्रतिशतभन्दा बढी निष्क्रिय रहेको नेपालका सरकारी स्वामित्वका बैंकहरु नेपाल बैंक लिमिटेड र राष्ट्रिय बैंकलाई वित्तीय सुधार कार्यक्रम लागु गरेर अहिले एकदमै सवल बैंकको रुपमा आफूलाई स्थापित गरेका छन् ।

कुनै एउटा बैंक बिग्रियो भने त्यो बैंक मात्र नभई समग्र देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकोले तथ्य नै नबुझि भ्रामक प्रचारप्रसार गर्नु राम्रो हुँदैन । कुनै पनि बैंकको बारेमा चित्त बुझेन भने सम्बन्धित ग्राहक गुनासो सुनुवाइ अधिकृत समक्ष कुरा राख्न सकिन्छ भने सम्बन्धित बैंकबाट समाधान भएन वा चित्त बुझेन भने भने नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ ईकाईमा सम्पर्क गर्न सकिन्छ । तर, अनावश्यक नकारात्मक हल्लाले अर्थतन्त्रलाई फाइदा गर्दैन, सामाजिक सञ्जालमा तथा मिडियामा राख्नुभन्दा पहिला एकपटक सोचेर, बुझेर मात्रै राखियो भने अर्थतन्त्रलाई फाइदा हुन्छ । तर, गलत सन्देश गयो भने ठूलो क्षति हुन सक्छ ।

(लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।)


क्लिकमान्डु