आइटेल र टेक्नो ब्रान्डको मोबाइल बेच्ने महालक्ष्मी मोबाइल्सको व्यापार ५५.२८% ले बढ्यो


काठमाडौं । नेपालको लागि आइटेल र टेक्नो ब्रान्डको आधिकारिक विक्रेता महालक्ष्मी मोबाइलको व्यापार ५५.२८ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ५५.२८ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ५८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा २ अर्ब ४५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ९ करोड रुपैयाँ र सन् २०२२ मा ४ अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार गत आवमा व्यापारमा सुधार आएको जनाएको छ । विगतका उच्च कारोबार गरी सन् २०२४ मा व्यापारमा कमी आएको थियो । पुनः कम्पनीको व्यापारमा सुधार हुँदै गएको तथ्यांकले देखाउँदछ । गत आवमा कम्पनीले नयाँ मोडलको मोबाइल सार्वजनिक गरेकाले व्यापारमा सुधार आएको हो ।

कम्पनीको व्यापार बढेपनि नाफा भने घटेको पाइएको छ । सन् २०२४ मा ५ प्रतिशत नाफा कमाएकोमा गत आवमा ४ प्रतिशत मात्रै नाफा कमाएको छ । साथै, कम्पनीको खुद नाफा भने १ प्रतिशतभन्दा कम रहेको छ । विगतका वर्षहरुमा कम्पनीले खुद घाटा व्यहोर्दै आएको थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनी विशेषगरी आइटेल ब्रान्डको र टेक्नो ब्रान्डको आधिकारिक विक्रेता हो । कम्पनीले चीनको कम्पनीसँग सहकार्य गरेर नेपालमा मोबाइलफोन आयात गरी व्यापार गर्दै आएको छ । कम्पनीको देशभर १ सय २८ वटा डिलर छन् ।

कम्पनीमा प्रकाशबहादुर स्वारको ५४.९५ प्रतिशत, शिवाज न्यौपानेको १८.३८ प्रतिशत, पूर्णभाद्र पौडेलको १४.४२ प्रतिशत र शोभाकर न्यौपानेको १२.२५ प्रतिशत स्वामित्व छ । अम्बे ग्रुपद्वारा सञ्चालित कम्पनीको अध्यक्ष भने शोभाकर न्यौपाने हुन् ।
कम्पनीले अल्पकालीन कर्जाका लागि ७८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

Skip This