सर्वोच्चमा एकैदिन २४५ वटा बैंकिङ कसुरका मुद्दा पेशीमा, आर्थिक हिसाव बिग्रनेको संख्या बढ्दै


काठमाडौं । आर्थिक हिसाव बिग्रनेको संख्या बढ्दै जाँदा बैंकिङ कसुरको मुद्दा लिएर अदालतसम्म पुग्नेको संख्यासमेत बढेको छ । एकातिर व्यवसाय गर्ने देखि आर्थिक कारोबारलाई मिलाउन नसक्नेहरुका कारण बढेको कालोसूचीमा पर्नेको संख्यासमेत बढ्दै गएको छ भने अर्कोतिर बैंकिङ कसुरको मुद्दा पनि बढेको देखिएको छ ।

आइतबार सर्वोच्च अदालतमा एकैदिन २४५ वटा बैंकिङ कसुरका मुद्दाको पेशी चढेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र मेघराज पोखरेलको संयुक्त इजालासम मात्रै १२३ वटा मुद्दा छन् ।

यीमध्ये एउटै व्यक्तिका धेरैवटा मुद्दा हुँदा र धेरैजसो बैंकिङ कसुरको पेशी सोही इजलासमा परेकोले पनि एकैदिन धेरैवटा मुद्दा देखिएको हो । यस्तो बैंकिङ कसुरको मुद्दामा चिरन बादे श्रेष्ठको मात्रै २०७८ फागुन २३ मा दर्ता भएका ३० वटा मुद्दा छन । यस्तै लब वराइली  र सामिन शाक्यका पनि धेरैवटा मुद्दा छन ।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै १३ सय ३३ जना व्यक्ति कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने व्यक्तिहरु मंसिर महिनामा औषतामा ४६ जना रहेका छन् ।

आर्थिक व्यवहार बिग्रदै जाँदाको परिणामस्वरुप अदालसम्म मुद्दा लिएर पुग्नेको संख्या समेत बढ्दै गएको सोमबार सर्वोच्च अदालतमा भइरहेको बैंकिङ कसुरका मुद्दाले पुष्टि गर्छ । यस्ता मुद्दाहरु सबै आर्थिक लेनदेन नमिलेका कारण भएको देखिन्छ ।

कर्जा सूचना केन्द्रका अनुसार असार मसान्तसम्ममा ९ हजार २५८ जना व्यक्ति कालोसूचीमा रहेकामा अहिले यो संख्या ६ हजार ६ सय ३६ जनाले बढेको छ । पुस ११ गतेसम्मको  ११ दिनमा मात्रै १७ सय व्यक्ति कालोसूचीमा परेका छन् ।

कालोसूचीमा पर्ने व्यक्तिहरुमा साउनमा १५ सय जना थिए । यो संख्या भदौमा १७ सय ४५, असोजमा ९७१, कात्तिकमा ८४७, मंसिरमा १३ सय ३३ रहेको पनि कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।