आर्थिक कारोबारमा बिचलन बढ्यो, सर्वोच्चमा एकैदिन ५० वटा बैंकिङ कसुरका मुद्दा पेसीमा


काठमाडौं । आर्थिक कारोबारमा विचलन बढ्दै जाँदा कालोसूचीमा पर्ने व्यक्तिको संख्यासमेत चालु आर्थिक वर्षको पुससम्ममा १५ हजार ८९४ पुगेको छ ।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै १३ सय ३३ जना व्यक्ति कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने व्यक्तिहरु मंसिर महिनामा औषतामा ४६ जना रहेका छन् ।

आर्थिक व्यवहार बिग्रदै जाँदाको परिणामस्वरुप अदालसम्म मुद्दा लिएर पुग्नेको संख्या समेत बढ्दै गएको सोमबार सर्वोच्च अदालतमा भइरहेको बैंकिङ कसुरका मुद्दाले पुष्टि गर्छ । सोमबार एकैदिन सर्वोच्च अदालतमा बैंकिङ कसुर सम्बन्धी ५० वटा मुद्दामाथि सुनुवाइ हुँदै छ ।

यस्ता मुद्दाहरु सबै आर्थिक लेनदेन नमिलेका कारण भएको देखिन्छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुंगानाको इजलासमा मात्रै १८ वटा बैंकिङ कसुरका रिटमाथि सुनुवाइ भइरहेको छ । यसमध्ये ११ वटा एउटै व्यक्तिको छ । बाँकी अरु न्यायाधीशका विभिन्न इजलासमा यस्ता मुद्दाको पेसी रहेको छ ।

कर्जा सूचना केन्द्रका अनुसार असार मसान्तसम्ममा ९ हजार २५८ जना व्यक्ति कालोसूचीमा रहेकामा अहिले यो संख्या ६ हजार ६ सय ३६ जनाले बढेको छ । पुस ६ गतेसम्मको तथ्यांक अनुसार १८ हजार ८९४ व्यक्ति कालोसूचीमा परेका छन् ।

कालोसूचीमा पर्ने व्यक्तिहरुमा साउनमा १५ सय जना थिए । यो संख्या भदौमा १७ सय ४५, असोजमा ९७१, कात्तिकमा ८४७, मंसिरमा १३ सय ३३ र पुसको ६ दिनमा मात्रै २४१ व्यक्ति रहेको पनि कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।

Skip This