नाडाको विधान संशोधनमा सीडियो कार्यालयले थप सुधार माग्यो



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल गैर नाफामुलक संस्था भएका कारण चुनावी तजबिजका लागी गरिएको विधान संशोधन हुन समस्या परेको छ ।

नाडाको संशोधित विधानमा एक वरिष्ठ उपाध्यक्ष पद थप्ने सहमति चुनाव अगाडि भएको थियो ।

चुनावमा तालमेल मिलाउन तीन महिनाभित्र विधान संशोधन गरिने वाचाका साथ सर्वसम्मत कार्यसमिति चुनिएको थियो । जसअनुसार नाडाको नयाँ नेतृत्वमा दुुई वर्षे कार्यकालका लागि करण चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको थियो ।
नाडाको अध्यक्षमा सिजी मोटर्सका कार्यकारी निर्देशक चौधरी र जिओ फोर्डका कार्यकारी निर्देशक आकाश गोल्छा आकांक्षी थिए ।

तर, सहमतिपछि गएको पुस २१ गते नाडाको ४७औं साधारणसभाले सर्वसम्मत रुपमा चौधरीलाई अध्यक्षमा निविरोध निर्वाचित गराएर अर्का आकांक्षी गोल्छालाई भने वरिष्ठ उपाध्यक्ष दिने बताइएको थियो । यसका साथै, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने नाडाले निर्णय गरेको थियो ।

सहमतिअनुसार नाडाले संशोधित विधान काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले विधानमा वरिष्ठ उपाध्यक्ष र दुई सदस्य थप्दा पनि कार्यसमितिमा १७ जनाभन्दा बढी हुन नसक्ने जनाएको छ ।

गैरनाफामुलक संस्थामा उहाँहरुले आफना चुनावी प्रयोजनका लागी कार्यसमितिमा पदहरु थप्नु भयो, जिल्ला प्रशासन कार्यालय स्रोतले भन्यो, तर, थपिएका पदहरु कानुनमा उल्लेख गरिएभन्दा बढि भएका कारण संशोधन गरेर ल्याउन भनेका छौं ।


क्लिकमान्डु