न्युज २४ टिभीको व्यापार घट्यो, वर्षमा कति कमाउँछ ?



काठमाडौं । टेलिभिजन च्यानल न्युज २४ को स्वामित्व रहेको कम्पनी नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड (एनबिसिएल)को व्यापारमा कमी आएको छ ।

सन् २०२१ पछि सन् २०२२ मा व्यापारमा केही सुधार आएको कम्पनीको सन् २०२३ को व्यापारमा भने कमी आएको हो ।
कम्पनीले सन् २०२१ मा ९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२२ मा भने कम्पनीको व्यापार १० करोड ८० लाखको भएको थियो । तर, सन् २०२३ मा व्यापारमा कमी आएको छ ।
सन् २०२३ मा कम्पनीले १० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

पछिल्लो समय दर्शक स्रोताको ध्यान डिजिटल माध्यममा गएको र विज्ञापनको क्षेत्र पनि डिजिटल हुँदै जाँदा एनबिसिएलको व्यापारमा संकुचन आएको हो । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालकाअनुसार कम्पनीलाई विज्ञापन क्षेत्रको अवस्था र प्रतिस्पर्धात्मक मिडिया क्षेत्रका कारण केही असर परेको छ । तर, कम्पनीले डिजिटल कन्टेन्ट मोनिटाइजेसनबाट भने केही आर्थिक पक्षमा योगदान पनि पाइरहेको इन्फोमेरिक्सले जनाएको छ ।

सन् २००७ मा प्रालिका रुपमा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

यो कम्पनीले न्युज २४ च्यानल सञ्चालन गर्दै आएको छ । कम्पनीमा तीन सदस्यीय बोर्ड रहेको छ, जसको अध्यक्षता अनिल जोशीले गरेका छन् ।


क्लिकमान्डु