३४ वटा विमानस्थलमा टेलिकमको निःशुल्क इन्टरनेट सुविधा



काठमाडौं । नेपाल टेलिकमले ३४ विमानस्थलहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क इन्टरनेट चलाउन दिने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग शुक्रबार सहमति गरेको छ ।

टेलिकम र प्राधिकरणबीच भएको सहमति अनुसार तत्काल त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान हुने छ । अन्य विमानस्थलहरुमा चरणबद्ध रुपमा निःशुल्क वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।

निःशुल्क इन्टनरेन दिने विषयमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।

सहमति पत्र अनुसार नेपाल टेलिकमले विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्षसमेत स्थापना हुने भएको छ ।

निःशुल्क वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ ।

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा निःशुल्क वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।


क्लिकमान्डु