सरकारको ऋण २ खर्बले बढेर २३ खर्ब ८६ अर्ब पुग्यो, मासिक ब्याज भुक्तानीमात्रै सवा ६ अर्ब



काठमाडौं । सरकारी ऋण चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँले बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघसम्म (७ महिना)को तथ्यांकअनुसार सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ छ । यस्तो ऋण गत असारमसान्तसम्ममा २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ मात्रै थियो ।

सरकारी ऋण पछिल्लो ७ महिनामा २ खर्बले बढ्दा सकारले तिर्ने ब्याज मात्रै मासिक ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । सरकारले पछिल्लो सात महिनामा ४४ अर्ब १४ करोड रुपैयाँ सार्वजनिक ऋणको ब्याज मात्रै तिरको छ । यो अवधिमा तिरेको ब्याजमा आन्तरिक ऋणको लागि ३९ अर्ब १४ करोड र बाह्य ऋणको लागि ५ अर्ब रुपैयाँ ब्याज मात्रै भुक्तानी गरेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार यो अवधिसम्ममा सरकारले तिरको साँवा भने आन्तरिक ऋणको लागि ९० अर्ब ९७ करोड र बाह्य ऋणको लागि २० अर्ब १२ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तो तथ्यांक अनुसार सरकारको हालसम्मको आन्तरिक ऋण ११ खर्ब ८४ करोड ५२ करोड रुपैयाँ रहको छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड रुपैयाँ रह्को छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या २ करोड ९२ लाख रहेको छ । यस आधारमा प्रत्येक नेपालीको थाप्लामा करिब ८२ हजार रुपैयाँ ऋणभार परेको छ ।


क्लिकमान्डु