विद्युतीय सवारीमा चौधरी ग्रुप आक्रामक, चिनियाँ चौथो ब्राण्ड एआईओएन वाई पनि भित्र्यायो, मूल्य कति ?



काठमाडौं । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स विद्युतीय सवारी साधनको व्यवसायमा आक्रामक रुपमा अघि बढेको छ ।

अघिल्लो वर्षको जेठबाट नेटा भी गाडी आयात सुरु गरेको सिजीले डेढ वर्षको दौरानमा ४ वटा विद्युतीय ब्राण्डका सवारी नेपाली बजारमा भित्र्याइसकेको छ ।

सीजी मोटर्सले नेपालमा चिनियाँ गाडी निर्माता ग्वान्झाओ अटोमोबाइल ग्रुप कर्पोरेसन (जीएसी) मोटर्सले उत्पादन गरेको एआईओएन वाई नामक विद्युतीय गाडी भित्र्याएको छ । नेपालमा सीजीले भित्र्याएको वातावरणमैत्री यो सवारी मंगलबार सार्वजनिक गरेको छ ।

नेपाली बजारमा भित्रिएको एआईओएन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ छ । विभिन्न सात रंगमा आएको यो सवारीले अन्य प्रतिस्पर्धी विद्युतीय सवारीसँगको तुलनामा उत्कृष्ट हुने अपेक्षा सीजी मोटर्सको छ ।

सीजीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले कम्पनीको थापाथली शोरुमबाट उक्त विद्युतीय गाडी सार्वजनिक गरे । यो सवारी किफायती मूल्यको भएको उपभोक्ताको रुचीमा पर्ने अपेक्षा चौधरीले गरेको बताए ।

उनले भने ‘यो सवारीको आकर्षक डिजाइ र सहजताले यात्रुलाई थप आकर्षित गर्न सक्छ ।’

यो सवारीमा अत्याधुनिक ब्याट्रि प्रणाली छ । पावरफुल ब्याट्रिका कारण यो विद्युतीय गाडीमा उत्कृष्ट सवारीमा परेको उल्लेख छ ।

यो गाडीको विशेषतामा ४५ सय ३५ एमएमको लम्बाइ, १८ सय ७० एमएएमको चौडाइ, १६ सय ५० एमएएमको हाइट छ । २७ सय ५० एमएएमको ह्वीलबेस, ५ वटा सिट, ४९० किलोमिटरको रेन्ज (एनइडीसी), ब्याट्रिको साइज ६१.५ किलोवाटप्रतिआवर छ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले छोटो समयमै लोकप्रियता कमाएको छ । एआईओएन ब्राण्डका गाडी सन् २०२३ मा चीनमा २१ हजार ११५ वटा बिक्री भएका थिए । सन् २०२३ को चीनमा बिक्री हुने विद्युतीय सवारीको बजारमा चौथो शीर्ष स्थानमा छ । गत वर्षभर बिक्री भएकोमध्ये विद्युतीय सवारीमा ५.६२ प्रतिशत बजार हिस्सा यो सवारीले ओगटेको छ । चिनियाँ बजारमा २७ हजार ५ सय ५७ वटा गाडी बिक्री गर्दै उलिङ तस्रो स्थानमा छ । चिनियाँ बजारमा ९८ हजार ४२३ वटा गाडी बेच्दै बीवाईडी पहिलो नम्बरमा र ३९ हजार ८८१ वटा गाडी बेच्दै टेस्ला दोस्रो नम्बरमा छ ।

सिजीले पनि नेटा भी र भने नेटा एक्स बिक्री गरिरहेको छ । गत जेठमा सिजीले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको थियो ।

सिजी मोटर्सले जापानको स्मार्ट मोटर्ससँग व्यापारिक सम्झौता गरिसकेको छ । जर्मनीको प्रसिद्ध अटो कम्पनी मर्सिडिज बेन्जको संयुक्त लगानी रहेको स्मार्ट मोटर्सले भर्खरै विश्वबजारमा स्मार्ट ह्यासट्याग १ विद्युतीय कार ल्याएको छ । सिजी मोटर्सले उक्त ह्यासट्याग १ विद्युतीय कारको नेपाली डिलरसिप लिएको छ।

सिजीले बंगलादेशका लागि विश्वविख्यात ब्राण्ड बीवाईडीको डिलरसिप पनि लिइसकेको छ ।

सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरी विद्युतीय सवारीको व्यापारलाई लिएर उत्साहित छन् ।

सरकारले सन् २०५० सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको संख्या ५० प्रतिशतले घटाउने लक्ष्य राखेपछि नेपाली व्यवसायीहरु ईभीको डिलरसिप लिन तातिएका हुन् ।

सरकारको योजनालाई सार्थकता दिँदै बजारमा विद्युतीय सवारीको माग पूर्ति गर्न सिजी मोर्टस लागिपरेको निर्वाण बताउँछन्।

सिजीले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभएर सार्वजनिक र कमर्सियल सवारी पनि भित्र्याउन थालेको छ । कमर्सियलअन्तर्गत केवाइसी ब्राण्डको गाडी भित्र्याइसकेको छ । यससँगै सिजीले नेटा भी, केवाइसी र किङलङ ब्राण्डका गाडी बिक्री गरिरहेको छ भने यसै वर्षबाट सिएसी ब्राण्डको विद्युतीय गाडी पनि भित्र्याउँदै छ ।

मन्त्रिपरिषद बैठकले २०७८ चैतमा विद्युतीय ट्याक्सीमा सट्टा भर्ना गर्ने निर्णय गरेको थियो । सोही अनुसार उपत्यकामा चल्ने २० वर्ष पुराना ट्याक्सी सट्टा भर्नाको रुपमा विद्युतीय ट्याक्सी नै लिनुपर्ने प्रावधानले पनि विद्युतीय सवारीप्रति आयातकर्ताको ध्यान खिचिएको छ ।


क्लिकमान्डु