विद्युतीय सवारी साधनमा ठूला घरानाको आँखा, आक्रामक हुँदै चौधरी ग्रुप



काठमाडौं । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स विद्युतीय सवारी साधनको व्यवसायमा संलग्न भएको धेरै भएको छैन । गत वर्षबाट मात्रै विद्युतीय सवारीको व्यापार गर्न थालेको सिजी मोटर्स एक वर्षमै आक्रामक रुपमा बजार विस्तारमा लागेको छ ।

गत वर्षको जेठबाट नेटा भी गाडी आयात सुरु गरेको सिजीले एक वर्षको दौरानमा ३ वटा विद्युतीय ब्राण्डका सवारी नेपाली बजारमा भित्र्याइसकेको छ । र, यो क्रम रोकिएको छैन ।

गत असोजमा सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्मार्ट मोटर्ससँग व्यापारिक सम्झौतामा हस्ताक्षर गरे । जर्मनीको प्रसिद्ध अटो कम्पनी मर्सिडिज बेन्जको संयुक्त लगानी रहेको स्मार्ट मोटर्सले भर्खरै विश्वबजारमा स्मार्ट ह्यासट्याग १ विद्युतीय कार ल्याएको छ । सिजी मोटर्सले उक्त ह्यासट्याग १ विद्युतीय कारको नेपाली डिलरसिप लिएको छ।

विद्युतीय सवारीको व्यापारमा हात हालेको एक वर्ष बित्दै गर्दा सिजीले ४ वटा ब्राण्डसँग सहकार्य गरिसकेको छ भने बंगलादेशका लागि विश्वविख्यात ब्राण्ड बीवाईडीको डिलरसिप पनि लिइसकेको छ ।

सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरी विद्युतीय सवारीको व्यापारलाई लिएर उत्साहित छन् । उनले पहिलो विद्युतीय गाडी भित्र्याउँदै गर्दा अन्य विद्युतीय ब्राण्डसँग पनि सहकार्य गर्ने बताएका थिए । सिजीले जेएसी ब्राण्डसँग पनि विद्युतीय सवारी बिक्रीको सम्झौता गरेको छ ।

वर्षाैंदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएका व्यावसायिक घरानाले विद्युतीय सवारीको व्यवसायमा चासो देखाउन थालेसँगै यसको बजार बढ्ने आकलन गर्न थालिएको छ । सिजी मोटर्सले विद्युतीय गाडीप्रतिको सर्वसाधारणको आकर्षणलाई सम्बोधन गर्न अन्य ब्राण्डसँग पनि सहकार्य गर्ने निर्वाण बताउँछन् ।

सरकारले सन् २०५० सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको संख्या ५० प्रतिशतले घटाउने लक्ष्य राखेपछि नेपाली व्यवसायीहरु ईभीको डिलरसिप लिन तातिएका हुन् । ‘सरकारको योजनालाई सार्थकता दिँदै बजारमा विद्युतीय सवारीको माग पूर्ति गर्न सिजी मोर्टस लागिपरेको छ,’ उनले भने ।

यसअघि पेट्रोलबाट चल्ने गाडी बिक्री गर्दै आएको सिजी मोर्टसले विद्युतीय गाडीलाई प्रथामिकतामा राख्न थालेको हो । गत जेठमा सिजीले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको थियो ।

सिजीले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभएर सार्वजनिक र कमर्सियल सवारी पनि भित्र्याउन थालेको छ । कमर्सियलअन्तर्गत केवाइसी ब्राण्डको गाडी भित्र्याइसकेको छ । यससँगै सिजीले नेटा भी, केवाइसी र किङलङ ब्राण्डका गाडी बिक्री गरिरहेको छ भने यसै वर्षबाट सिएसी ब्राण्डको विद्युतीय गाडी पनि भित्र्याउँदै छ ।

मन्त्रिपरिषद बैठकले २०७८ चैतमा विद्युतीय ट्याक्सीमा सट्टा भर्ना गर्ने निर्णय गरेको थियो । सोही अनुसार उपत्यकामा चल्ने २० वर्ष पुराना ट्याक्सी सट्टा भर्नाको रुपमा विद्युतीय ट्याक्सी नै लिनुपर्ने प्रावधानले पनि विद्युतीय सवारीप्रति आयातकर्ताको ध्यान खिचिएको छ ।

सिजीले पनि नेटा भी विद्युतीय गाडीलाई ट्याक्सी प्रयोजनका लागि बिक्री सुरु गरिसकेको छ भने नेटा एक्स पनि बजारमा ल्याउँदै छ । सिजीले गुलाबी रंगका गाडी ट्याक्सीको रुपमा बिक्री गरिरहेको छ ।

यस्तै सिजीले केवाइसी र किङलङमा राम्रो व्यापार गरिरहेको छ । सिजीले यी दुई ब्राण्डकै ७ सयभन्दा बढी गाडी बिक्री गरिसकेको छ । कम्पनीका अनुसार असोजमा मात्रै नेटा भीसहितका विद्युतीय गाडी ४ सय वटा बिक्री भएका छन् । कम्पनीका अनुसार नेटा भीको तुलनामा केवाइसी र किङलङका गाडी तराई क्षेत्रका ग्राहकले बढी रुचाएका छन् ।

विद्युतीय सवारी बिक्रीलाई जोड दिँदै आएको सिजी मोटर्सले यो वर्षमात्रै दुई वटा नयाँ ब्राण्ड नेपाल भित्र्याउँदै छ भने नेटा भीको व्यापारपछि अर्को संस्करण नेटा एक्स पनि ल्याउँदै छ । कम्पनीका अनुसार नेटा एक्स वैशाखबाट बिक्री सुरु हुनेछ । ५३ लाख रुपैयाँ पर्ने यो एसयूभी गाडी नेपाली बजारमा प्रतिस्पर्धी हुने कम्पनीको अपेक्षा छ ।

कम्पनीका बजार प्रमुख किरण आचार्य विद्युतीय गाडीको मागअनुसार आपूर्ति गर्न नसकेको बताउँछन् । ‘अहिले बजारमा विद्युतीय गाडीको माग अत्यधिक छ, अटोलोनमा सहजता आएसँगै गाडीको माग बढ्न थालेको छ,’ उनले भने, ‘कम्पनीहरुलाई मागअनुसारको आपूर्ति समयमै गर्न निकै कठिन भइरहेको छ ।’

अन्य ठूला व्यापारिक घराना पनि यतिबेला विद्युतीय गाडीको व्यापारमा आक्रामक भएका छन् । सिप्रदीले टाटाका, विशाल ग्रुप र मुरारका ग्रुपले एमजीका, लक्ष्मी ग्रुपले हुण्डाइका विद्युतीय गाडी बिक्री गर्दै आएका छन् । गोल्छा ग्रुपले पनि चाँडै नै विद्युतीय सवारी साधनको डिलरसिप लिँदै छ । अन्य घराना पनि विद्युतीय सवारी साधन भित्र्याउन विभिन्न विदेशी कम्पनीसँग डिल गरिरहेका छन् ।


क्लिकमान्डु