वीरगञ्जमा निर्मित होल्डिङ सेन्टर प्रयोगविहीन, २८ करोड खेर गयो



पर्सा । कोरोना सङ्क्रमणको समयमा करिब दुई अघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन् ।

विसं २०७८ मा कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले करिब २८ करोडको लागतमा यहाँ कूल ६० कोठे होल्डिङ सेन्टर निर्माण गरिएका हुन् । हालसम्म ती भवनको स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोग गर्न सकिएको छैन ।

नेपाली सेनाले १३ भान्सा घर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय श्यया र जटिल अवस्थाका बिरामीका लागि एक सय श्यया तथा तीन वातानुकलित कक्षसहित निर्माण गरेको उक्त होल्डिङ सेन्टर सुरक्षार्थ सेनाको टोली खटिएको छ ।

“होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने निश्चित छैन”, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, “स्वामित्व निश्चित नहुँदा बिजुली र खानेपानी जडान गर्न सकिएको छैन ।” होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको उनले बताए । महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गरे पनि बजेट अभावका कारण स्वामित्व लिन नसकिने जवाफ पाएको प्रजिअ भुसालको भनाइ छ ।

“मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार ग¥यौँ, तर जवाफ आएको छैन”, उनले भने । होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार रहेको प्रजिअ भुसालले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण र खानेपानी कार्यालयले होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गर्न स्वामित्व अनिश्चित भएकै कारण आनाकानी गरेको उनले बताए ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएकाले होल्डिङ सेन्टरको प्रयोग गर्नुपर्ने अवस्था आएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले बताए । “होल्डिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ”, उनले भने ।

भारतीय सीमा क्षेत्रमा वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा खटिएकी ल्याब टेक्निसियन निशा साहले भारतबाट आवतजावत गर्ने करिब दुुई सयदेखि तीन सय जनाको दैनिकरुपमा कोरोना सङ्क्रमण भएनभएको जाँच गरिरहेको बताए । कोरोना सङ्क्रमण पोजेटिभ देखिएकालाई होम क्वारेन्टिनमा बस्न सुझाव दिने गरेको उनको भनाइ छ ।


क्लिकमान्डु