आजदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु



काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । शुक्रबार विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे ।

अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्णरुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् । विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।

विभागले सुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला भएका छन् भने ई.भिसा एक विदेशी नागरिकलाई दिएर शुरुवात भएको छ ।

उक्त सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न,भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने,आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन ।

सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ ।

शुभारम्भ कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले अध्यागमन लगायत अन्य गृहमन्त्रालय अन्तर्गत रहेका सेवाहरुलाई स्वचालित र अनलाइन सेवा दिने मिसनमा रहेको बताए । उनले गृह मन्त्रालयले मात्रै लागेर भन्दा पनि अन्य निकायहरुको पनि समन्वय आवश्यक रहेको बताए ।

उनले तत्कालको लागि अनलाईन भुक्तानी नेपालभित्रबाट मात्रै गर्न सकिने अनुमति भएको भन्दै आगामी दिनमा अनलाइन भुक्तानीलाई अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्नसक्ने बनाउने प्रतिवद्धता जनाए । भिजिट भिषाका विगतका प्रावधानहरुलाई सहज र सरलिकृत गरिएको भट्टराईको भनाइ छ ।

अध्यागमन विभागबाट लिने सेवा शुल्क,भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपीएस,इसेवा र खल्तीको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था पनि लागू भएको छ ।


क्लिकमान्डु