बाँसबारी जग्गा प्रकरण: उद्योगी चौधरीसहितका आरोपी छुटे



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनजना हिरासतमुक्त भएका छन् । उनीहरु बुधबार मध्याह्न हाजिर जमानीमा छुटेका हुन् । उनीहरुलाई आफन्तको जिम्मा लगाएर छाडिएको हो ।

सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनीहरु हिरासतमुक्त भएका हुन् ।

गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका उद्योगी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

अदालतले पहिलो पटक चार दिनको म्याद दिएको थियो । यस अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार फेरि थप म्याद मागेको थियो । तर अदालतले दुई दिनभन्दा बढी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनीहरु आज छुटेका हुन् ।

पक्राउ परेसँगै स्वास्थ्यमा समस्या देखिएपछि चौधरी र थापा अस्पताल भर्ना भएका थिए भने ठाकुर सीआईबीको हिरासतमै थिए । सुरुमा चिरायु अस्पताल लगिएका उनीहरुलाई अस्पतालले रिफर गरेको थियो ।उनीहरु ग्राण्डी अस्पतालमा उपचाररत थिए । चौधरी र थापा हिरासतमा नबसी अस्पतालबाटै छुटेका हुन् । छुट्नुअघि उनीहरुलाई अस्पतालबाट सीआईबीको कार्यालयमा उपस्थित गराइएको थियो ।

अदालतले उनीहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडि बाँकी अनुसन्धानको कार्य पूरा गर्न आदेश दनिएको थियो ।

सरकारको निर्णयबिना सञ्चालक समितिलाई कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभए पनि तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिने निर्णय गरेको आरोप छ।


क्लिकमान्डु