केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग



काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएका केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रुपमा नेपाल भित्र्ने तर चीन जान नपाउँदा नेपाली व्यवसायीको अर्बाैं रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको पनि जनाएको छ ।

महासंघले व्यवसायीलाई सहजरुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गर्दै महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई नाका, केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायी मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताए ।

उनले धेरै सामान चीनबाट आयात हुने भएकाले व्यवसायी आफँै जान नपाउँदा समस्यामा रहेको बताए । चीनबाट आयात हुने सामानहरु नाकामा फुट्ने, लामो समयदेखि थन्किने भएकाले कुहिने हुँदा पनि व्यवसायीहरु नाका पारी जान नपाएको उनले उल्लेख गरे ।

कार्कीले समान ढुवानी गर्न, ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय सवारी साधन लैजानुपर्ने एकाधिकार हटाउने माग पनि गृहमन्त्रीसँग गरिएको बताए । चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको भन्दै अध्यक्ष कार्कीले गृहमन्त्रीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

महासंघ उपाध्यक्ष लक्ष्मी खड्काले काठमाडौंमा व्यापार व्यवसाय गरिरहेका ७५ जिल्लाका व्यवसायीले चीनबाट आयात गरेका सामान नाकामा उपस्थित भएर ल्याउन समस्या भएको जानकारी दिइन् । सरकारले चीनसँग जोडिएका केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गरी नाका पारी जान पाउने व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरिएको उनले बताइन् । उनले चीनबाट अर्बौं रुपैया लगानी गरेर आयात गरेको सामान ल्याउनको लागि आफैँ जान पाउनुपर्ने बताइन् ।

गृहमन्त्रीले व्यवसायीहरुको मागलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकाले सरकारले माग सम्बोधन गर्ने अपेक्षा रहेको खड्काको विचार छ ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले चीनसँग जोडिएका केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीले मात्रै नाकापारी जान पाउने व्यवस्था रहेकोमा अन्य व्यवसायीलाई पनि अस्थायी पासको व्यवस्था गरी आवतजावत गर्न माग गरिएको जानकारी दिए । चीनबाट आयात गरिएको आफनो सामान व्यवसायीले हेर्न र लिन जान नपाएको उनको गुनासो छ ।

उनले सन् २०१६ सालमा चीनसँग भएको पारवहन सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

व्यवसायीले चीनका नाकामा रहेका भन्सार कार्यालयमा हुने प्रशासनिक झन्झटको अन्त्य गर्न पनि सरकारसँग माग गरेका छन् । उनीहरुले भन्सार सहज बनाउन र नाकामा सामान सहज रुपमा नेपालमा ल्याउने व्यवस्था गर्न बारम्बार ध्यानाकर्षण गर्दा समेत सरकारले ध्यान नदिएको गुनासो पनि गरे ।

व्यवसायीले रसुवा नाकामा सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा ल्याउन समेत माग गरेका छन् ।


क्लिकमान्डु