एक अर्ब ६८ करोड लगानीमा राजापुर सुगर तथा केमिकल उद्योग निर्माण गर्दै



काडमाडौं । राजापुर बर्दियामा एक अर्ब ६८ करोड ६८ लाख रुपैयाँ लगानीमा राजापुर सुगर तथा केमिकल उद्योग निर्माण हुने भएको छ ।

कम्पनीले दैनिक २५ सय टन क्षमतामा ऊखु प्रशोधन गर्ने गरी उद्योग निर्माण गर्ने भएको हो । कम्पनीले डिस्टिलरी युनिट र को–जेनेरेशन युनिट गरी दुई वटा युनिट प्लान्ट निर्माण गर्ने जनाएको छ । उद्योग निर्माणका लागि कम्पनीले लगानीको अनुपात ८०ः२० राखेको छ ।

कम्पनीले १ अर्ब ३५ करोड लगानी ऋण लिई लगानी गर्ने भएको छ भने ३३ करोड ६८ लाख रुपैयाँले इक्वीटीबाट लगानी गर्नेछ । अहिले कम्पनीको पहिलो चरणको निर्माण कार्य भइरहेको छ ।

कम्पनीले आगामी सन् २०२५ को जुलाईदेखि सञ्चालन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी, कम्पनीले दीघकालीन कर्जाका लागि १ अर्ब ५३ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले सिंगल बी रेटिङ पाएको छ ।

कम्पनीको अध्यक्ष यज्ञबहादुर ओली हुन् । ओली देउती गुट्खा उद्योगको लगानीकर्ता हुन् । पश्चिम क्षेत्रमा रहेको उक्त उद्योगले सन् २०२३ मा ३ अर्ब ५१ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२२ मा २ अर्ब ९८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

ओलीको देउती प्याकेजिङ, देउती साबुन र केमिकल प्रालि, लोटस टब्याको इन्डष्ट्रिज, होटल मेघा र देउती रियल इस्टेट क्षेत्रमा लगानी छ ।


क्लिकमान्डु