महाराजगञ्जमा बनिरहेको कर्मा रेसिडेन्सको लागत साढे ५ अर्ब पुग्यो



काठमाडौं । गुड कर्मा ग्रुप अफ कम्पनी प्रालिले महाराजगञ्जमा बनाउँदै गरेको ‘कर्मा रेसिडेन्स’ को लागत १८ प्रतिशतले बढेको छ । आयोजना निर्माणका लागि तयार गरेको लागतको तुलनामा पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढ्दा १८ प्रतिशतले बढी खर्च हुने भएको हो ।

कम्पनीले सुरुमा ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ लागतमा उक्त रेसिडेन्स निर्माण गर्ने योजना बनाएको थियो । तर, निर्माण लागत, जग्गाको मूल्य तथा निर्माण सामग्रीहरुको मूल्य बढ्दा आयोजनाको लागत मूल्य साढे ५ अर्ब बढी लाग्ने अनुमान गरेको छ । आयोजना निर्माणका लागि ५ अर्ब ६५ करोड ८० लाख रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि ३ अर्ब रुपैयाँको रेटिङ गराएको थियो । अहिले लागत बढेपछि कम्पनीले थप डेढ अर्ब ऋण लिने भएको छ । जसमा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेसिडेन्स निर्माणका लागि ऋण र इक्वीटीको अनुपात ४०:६० राखेको छ । ए वान बिल्डर्सले निर्माण गर्ने आयोजनाको हालसम्ममा ३७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

कम्पनीले आयोजना सन् २०२५ को सेप्टेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले महाराजगञ्जमा १६२ वटा लग्जरियस अपार्टमेन्ट निर्माण गरिरहेको छ । कम्पनीले तीन प्रकारको अपार्टमेन्ट निर्माण भइरहेको जनाएको छ । कम्पनीले ए, बी र सी प्रकारको अपार्टमेन्ट २.५ बीएचके र ३.५ बीएचकेको निर्माण गर्नेछ ।

अपार्टमेन्टको प्रत्येक भवनमा २ तला बेसमेन्ट पार्किङ हुनेछ भने १२ तलाको निर्माण हुनेछ ।

कम्पनीले निर्माण गरिरहेको अपार्टमेन्टको हालसम्ममा ३२ करोड ३० लाख रुपैयाँ अग्रिम भुक्तानी हुँदा ५३ वटा युनिट बुकिङ भइसकेको जनाएको छ ।

पछिल्लो समय शहरी क्षेत्रमा विभिन्न सुविधासहितको अपार्टमेन्टको बढ्दो माग छ । त्यसैले, सबैलाई पायक पर्ने स्थानमा अपार्टमेन्ट निर्माण गरिएको कम्पनीको भनाइ छ ।

करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओट्नेछ । अमेरिका, अष्ट्रेलिया र साउदीको दूतावास नजिकै बनिरहेको कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ । अन्य सुविधामा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटरलगायतका सुविधा रहने कम्पनीले जनाएको छ ।

त्यति मात्रै होइन, स्वीमिङ पुल, जीम र साउना, जगिङ ट्रयाक, मेडिटेसन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि हुनेछन् ।


क्लिकमान्डु