महाराजगञ्जमा बन्दैछ ६ अर्ब लगानीमा लक्जरियस ‘कर्मा रेसिडेन्सी’, मूल्य कति ? सुविधा कस्ता ?



काठमाडौं । सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले राजधानी काठमाडौंको महाराजगञ्जमा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण हुँदैछ ।

यसको औपचारिक शुरुवात सोमबार राजधानीमा आयोजित कार्यक्रममा गरिएको छ ।

करिब २ दशक अमेरिकामा बिताएका कर्मा तेञ्जिङको परिकल्पना र लगानीमा निर्माण हुने कर्मा रेसिडेन्सी अबको तीन महिनामा पूर्णरुपले तयार हुनेछ ।

डिजाइन, कागजपत्र निर्माण, अनुमति तथा स्वीकृतिका साथै जग खन्ने काम गर्दासम्म ८ महिना बितिसकेको छ । अबको १८ महिनामा संरचना निर्माणको काम सकिनेछ भने बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने कर्माको योजना छ ।

१८ वर्ष अमेरिकामा बिताएका कर्मा आफूलाई पोलार एक्सपोरर, क्लाइमर, डेभलपर, एक्स वाल स्ट्रिट र प्रोफेसर भन्न रुचाउँछन् । उनी अझै पनि अग्ला अग्ला हिमाल चढ्छन् । अमेरिकाको वाल्टस्ट्रिट ४ वर्ष र न्यूयोर्कका विश्वविद्यालयमा इकोनोमिक्सको प्रोफेसरका रुपमा ४ वर्ष अध्यापन गराएको अनुभव पनि छ ।

सन् २०१५ मा नेपाल र खासगरी काठमाडौं र यसका आसपासका जिल्लाहरुमा भूकम्पको ठूलो धक्काले तहसनहस बनायो तब महलम लिएर उनी काठमाडौं आइपुगेका थिए ।

भूकम्पले चर्काएका घाउमा महलम लगाउँदै गर्दा मन यतै बस्यो । उनी फर्किएनन् । अब यतै व्यवसाय गर्ने सोच बनाए ।

उसो त उनको लगानीमा महाराजगञ्जमा सञ्चालित काठमाडौं भ्याली स्कुल पहिलेदेखि नै सञ्चालनमा थियो । जसमा कर्माको परिवारको लगानी थियो । भूकम्पले विद्यालयका भवन पनि छोएको थियो ।

भूकम्पको धक्का लागेको विद्यालयको भवन पुर्नसंरचना गर्ने निधो गरे । महाराजगञ्जको विद्यालय रानीबारीमा सारे । त्यहाँ सुविधा सम्पन्न विद्यालय भवन बनाए । विद्यालयको भवन निर्माणमा करिब १ वर्ष खर्चिए ।

विद्यालयको भवन निर्माण कर्मा र उनको परिवारलाई अनुभव भयो । उसो त अमेरिकाको म्यानह्याटनका अग्ला भवनका लग्जिरियस अपार्टमेन्टमा बस्दै गर्दा उनलाई नेपालमा पनि यस्तै बनाउन पाए हुन्थ्यो नभएको होइन । तर विद्यालयको भवन निर्माणपछि भने आत्मविश्वास बढ्यो ।

सोमबार याक एण्ड यति होटलको खचाखच भरिएको हलको पोडियममा उभिएर उनले भने, ‘अब नेपालीहरुले सुविधासम्पन्न र अत्याधुनिक अपार्टमेन्ट पाउनेछन्, यसको शुरुवात भइसकेको छ र तीन वर्षमा सम्पूर्ण काम सकिन्छ ।’

‘विश्वका डरलाग्दा अग्ला हिमाल उक्लदै गर्दा मैले सुरक्षाको महत्व बुझेको छु,’ उनले भने, ‘कर्मा रेसिडेन्स पनि सुरक्षा र बलियो भवनका लागि पर्यावाची बन्नेछ ।’

उनको दाबी अनुसार सन् २०१५ को भूकम्पपछि भूकम्प प्रतिरोधी क्षमताको भवनको स्वीकृति पाउने पहिलो र आजसम्म एक मात्रै भवन हो ।

अपार्टमेन्ट तीन वटा बिल्डिङमा हुनेछ । प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ हुनेछ भने बाँकी १२ तलामा अपार्टमेन्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ । भवनमा १६२ वटा अर्पाटमेन्टहरु हुनेछन् ।

महाराजगञ्जको कतार भिसा सेन्टरबाट नजिकै पर्छ, रिङरोडबाट ६४ मिटर बाहिर अपार्टमेन्ट बन्दैछ । अमेरिकी र अष्ट्रेलियन एम्बेसी पनि नजिकै पर्छन् भने प्रहरी चौकी र अस्पताल पनि नजिकै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ५ किलोमिटरको दूरीमा रहेको निर्माणधिन अपार्टमेन्ट ह्याम्स अस्पतालभन्दा जम्मा ३ मिनेटको दूरीमा छ । यूएस एजुकेशन फाउण्डेसन, यूएस पिस कर्पस् पनि नजिकै छन् ।

कर्माले यो अपार्टमेन्टसँगै अन्य व्यवसायमा पनि हात हालेका छन् । उनले पाँचतारे होटल ले मेरिडियन होटल निर्माणका लागि सम्झौता गरेका छन् । तर यो अपार्टमेन्ट बनेपछि मात्रै निर्माणको काम शुरु हुनेछ ।

त्यसबाहेक उनको लगानीमा रानीबनमा काठमाडौं भ्याली स्कुल, इन टु द हिमालयन ट्रेक्स एण्ड एक्सपेन्डिसनका साथै काठमाडौंको नक्सालमा मोमो कर्मा रेष्टुराँ पनि सञ्चालनमा छ ।

भवन निर्माण गर्दै गर्दा भूकम्पका कारण आउन सक्ने सबै खाले जोखिमलाई ध्यानमा राखेर डिजाइन र निर्माण शुरु गरिएको हो ।

मुम्बईको यू एण्ड भी बिल्डर्स एण्ड डेभलपर्सले भवनको डिजाइन गरेको छ । साथै, भवन निर्माणको जिम्मेवारी १२ वर्ष अनुभव भएको भक्त लामाको ए वान बिल्डर्सले लिएको छ ।

शुरुमा होटल र अपार्टमेन्ट शुरु गर्ने योजना भए पनि पहिले अपार्टमेन्ट निर्माणपछि मात्रै होटल निर्माणमा हात हाल्ने उनले बताए ।

निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाका अनुसार करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओट्नेछ । नियम अनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्नेछ । जहाँ पार्कदेखि कम्युनिटी हलसम्मका भवनहरु निर्माण हुनेछन् ।

२.५बीकेएच र ३.५बीकेएच अपार्टमेन्ट रहने कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ ।

अन्य सुविधामा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटरलगायतका सुविधा रहनेछन् ।

त्यति मात्रै होइन, स्वीमिङ पुल, जीम र साउना, जगिङ ट्रयाक, मेडिटेसन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि हुनेछन् ।

लगानी र मूल्य
कर्माले निर्माण शुरु गर्दाभन्दा लागत केही बढ्ने देखिएको छ । उनका अनुसार भवन निर्माण सकिँदासम्म सम्भवत ६ अर्ब रुपैयाँ लागत पुग्न सक्छ । हरेक प्रकारका सुविधाका कारण लागत बढ्दै गएको उनको भनाइ छ ।

कर्मा तेञ्जिङ प्रि–बुकिङ गर्नेले तीन वर्षमा १११.११ प्रतिशत रिटर्न लिन सक्ने बताउँछन् ।

‘हाम्रो योजना अनुसार तीन वर्षमा कम्तीमा १०० प्रतिशतको रिटर्न अन इक्विटी (आरओई) दिन सक्छौं,’ उनले भने ।

त्यसो कसरी भने प्रि–बुकिङ गर्नेले प्रतिस्क्वायर फिट ३० हजार रुपैयाँका दरले दिए पुग्छ । तर केही दिनपछि यो मूल्य भने बढ्ने छ अर्थात् बुकिङ ओपनिङको समयमा यो प्रतिस्वायर फिट ३२ हजार रुपैयाँ पर्नेछ । जुन आजका दिनमा यसको मूल्य ४० हजार रुपैयाँ प्रतिस्क्वायर फिट हो ।

सबैभन्दा सस्तो अपार्टमेन्ट आज प्रिबुकिङ गर्दा अर्थात् १२५० स्वायरफिट क्षेत्रफलको अपार्टमेन्टको मूल्य ३ करोड ७५ लाख रुपैयाँ पर्न जान्छ भने बुकिङ मात्रै गर्दा ४ करोड रुपैयाँ पर्न जान्छ । र, अपार्टमेन्ट निर्माण भइसक्दा यसको मूल्य ५ करोड रुपैयाँ पर्न जान्छ ।

तर इच्छुकहरुले ६० प्रतिशत डाउनपेमेन्ट र ४० प्रतिशत लोनमा तत्काल बुकिङ गर्न भने सक्छन् । यसले गर्दा २ वर्षमा २.२५ करोड रुपैयाँ मात्रै उपभोक्ताको खल्तीबाट खर्च हुनेछ । यदि प्रतिस्वायर फिट ४० हजार रुपैयाँका दरले हिसाब गर्ने हो भने यो १.२५ करोड रुपैयाँ बचत हुन जाने कर्माको दाबी छ ।

कर्माका अनुसार नेपालमा रियल स्टेट क्षेत्रको मूल्यवृद्धि वार्षिक ८ प्रतिशतका दरले भइरहेको छ । तर काठमाडौंको हकमा यो २० प्रतिशत छ । जब तीन वर्षमा यो प्रोजेक्ट सम्पन्न हुन्छ तब यसको मूल्य प्रतिस्वायर फिट ५० हजार रुपैयाँ पर्नेछ । र, सेल्स मूल्य ६.२५ करोड रुपैयाँ पुग्नेछ ।

यसरी हेर्दा आजका दिनमा प्रि बुकिङ गर्दा ३० हजार रुपैयाँ प्रतिस्वायर फिट खर्च गर्दा ४ करोडभन्दा कम रकम खर्च हुन्छ भने फाइदा कम्तीमा १.२५ करोड रुपैयाँ हुनेछ ।

बुकिङको ओइरो
कर्माका अनुसार प्रि–बुकिङमै अपार्टमेन्टमा चासो देखाउनेहरुको संख्या निकै ठूलो छ । अर्थात् सोमबार औपचारिक लञ्चभन्दा अघि नै ८० भन्दा अपार्टमेन्ट बुकिङ भइसकेका छन् भने सोमबार पनि राम्रो इनक्वारी आएको छ । यसरी हेर्दा १६२ वटा अपार्टमेन्टमा अब सीमित अपार्टमेन्ट मात्रै बाँकी रहेको अनुमान गर्न सकिन्छ ।


क्लिकमान्डु