उपत्यकामा आधा दर्जन अपार्टमेन्ट बन्दै, मूल्य कति ?



काठमाडौं । सहर छिर्ने लर्कोले हिमाल, तराई र पहाडी जिल्लाका अधिकांश गाउँहरु शून्य हुन थालेका छन् । अघिकांश पूर्वाधार विकास सहर केन्द्रित हुँदा मानिसहरु पहाडबाट तराई र सहर छिर्ने बढ्दो क्रममा छ । साथै, सहरहरु देशभरका जनताको आकर्षणको केन्द्र बनेको छ ।

देशभर विभिन्न स्थानमा ठूला सहर स्थापना भए पनि पूर्वाधार विकासमा निकै कमजोर हुँदा संघीय राजधानी धाउनुपर्ने बाध्यता छ । उक्त बाध्यताका कारण राजधानीमा जनसंख्या उच्च दरमा बढ्दै गएको पाइन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँबाट सहर पस्ने सर्वसाधारणको संख्या बढ्दै गएको छ । २०६८ मा शहरी जनसंख्या २२.३१ प्रतिशत थियो । पछिल्लो २०७८ सालको जनगणनाअनुसार यो प्रतिशत बढेर २७.०७ प्रतिशत पुगेको छ । देशभरका मानिसहरुको आकर्षणको केन्द्र उपत्यका बन्दा बसोबास निकै अव्यवस्थित बन्दै गएको छ ।

पछिल्लो १० बर्षको अवधिमा ४.७६ प्रतिशतका दरले सर्वसाधारणले गाउँ छाडेर सहर प्रवेश गरेका छन् । गाउँ छाडेर सहर आकर्षणको केन्द्र बन्दा सहरी क्षेत्रमा घरजग्गाको मूल्य छोइनसक्नु अवस्था छ । त्यस्तै, अहिले सर्वसाधारणको आकर्षणको केन्द्र बनेको उपत्यकामा घरजग्गाको मूल्य छोइनसक्नु अवस्था छ ।

घरजग्गाका लागि सीमित क्षेत्रफल तर, माग उच्च हुँदा उपत्यकामा प्रतिआना २० लाख रुपैयाँमा जग्गा र डेढ करोडभन्दा कम मूल्यमा घर खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ । मध्यम वर्गका सर्वसाधारणलाई उपत्यकाको रिङरिडभित्र जग्गा खरिद गरी घर निर्माण गर्ने भन्ने कुरा कल्पनाबाहिर भइसकेको छ । त्यसैले, पछिल्लो समय रिङरोडदेखि ४ देखि ६ किलोमिटरसम्मको दूरीमासमेत बस्ती बढ्दै गएको छ ।

उपत्यकामा मागअनुसारको जग्गा उपलब्ध नहुँदा घरजग्गा व्यवसायीहरुले सर्वसाधारणहरुका लागि सुरक्षित आवास र अपार्टमेन्ट निर्माणमा जोड दिएका छन् । दर्जनभन्दा बढी घरजग्गा कम्पनीले उपत्यकाका विभिन्न क्षेत्रमा अपार्टमेन्ट तथा हाउजिङ निर्माण कार्यलाई तीब्रता दिएको छ ।

उपत्यकामा बसोबास गर्नेको संख्या बढ्दै गएकाले पर्याप्त क्षेत्रफल नहुँदा व्यवसायीहरुले गगन्चुम्बी भवनमा हजारौंको संख्यामा बस्न सक्ने पूर्वाधारमा जोड दिनुपर्ने बताउँदै आएका छन् । साथै, सोहीअनुसार व्यवसायीहरुले उपत्यकामा अपार्टमेन्ट निर्माणमा जोड दिएको पाइन्छ ।

क्लिकमान्डुले संकलन गरेको तथ्याङ्कमा उपत्यकाका विभिन्न स्थानमा आधार दर्जनभन्दा बढी घरजग्गा व्यवसायीहरुले अपार्टमेन्ट निर्माण गरिरहेका छन् कम्पनीहरुले बजारको माग आवश्यकता पूर्तिका लागि अर्बौ खर्चेर अपार्टमेन्ट निर्माण गरिरहेका छन् ।

घरजग्गा व्यवसायी कम्पनीहरु कर्मा रेसिडेन्सी, पद्मा रेसिडेन्सी, रोडशो रियल इस्टेट, सीई कन्स्ट्रक्सन र बफाल रेसिडेन्सीले उपत्यकामा अपार्टमेन्ट निर्माण गरिरहेका छन् । कम्पनीहरुले एक हजारभन्दा बढी अपार्टमेन्ट युनिटमा निर्माण कार्य गरिरहेका छन् ।

कुन कम्पनीले कहाँ बनाउँदै ?

बूढानीलकण्ठ अपार्टमेन्ट-II

घरजग्गा व्यवसायी कालु गुरुङले करिब २ अर्ब लगानीमा बूढानीलकण्ठमा आवासीय अपार्टमेन्ट निर्माण गर्ने भएका छन् । रोडसो इन्भेष्टमेन्ट कम्पनी र इमेज हाउजिङ एण्ड डेभलपर्सको संयुक्त लगानीमा सञ्चालन रहेको व्यवसायिक कम्प्लेक्स र अपार्टमेन्ट आयोजना विकासमा काम गर्दै आएको कालिमाटी ट्रेड सेन्टर प्रालिले बूढानीलकण्ठमा आपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

व्यवसायी कालु गुरुङ

कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ लगानीमा अपार्टमेन्ट निर्माण गर्न लागेको हो । कम्पनीले अपार्टमेन्ट निर्माणका लागि ५० करोड रुपैयाँ ऋण लिने भएको छ भने १८ करोड रुपैयाँ कम्पनीले लगानी व्यहोर्नेछ । साथै, १ अर्ब २१ करोड रुपैयाँ ग्राहकले गरेको अग्रिम बुकिङबाट संकलित रकमले अपार्टमेन्ट निर्माण हुने छ । कम्पनीले सन् २०२३ को सेप्टेम्बरसम्ममा १३ करोड रुपैयाँ अर्थात् ७२ प्रतिशत रकम लगानी सुनिश्चित गरिसकेको छ ।

कम्पनीकाअनुसार ६४ प्रतिशत आयोजनाको लागत ग्राहकको अग्रिम बुकिङबाट हुने रकम लगानी हुनेछ । कम्पनीले आगामी २०२६ को सुरुमै व्यवसायिक कारोबार गर्ने योजना बनाएको छ । अपार्टमेन्ट निर्माणका लागि पहिलो चरणको काम भइरहेको छ ।

कम्पनीले उपत्यकामा दोस्रो चरणको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । कम्पनीले बूढानीलकण्ठमा ५० युनिटभन्दा बढी युनिटको अपार्टमेन्ट निर्माण गर्नेछ । यसअघि कम्पनीले बूढानीलकण्ठमै २० युनिटको अपार्टमेन्ट निर्माण गरिसकेको छ ।

पुल्चोक हाइट

रोडशो अपार्टमेन्टले नै पुल्चोकमा पनि सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले पुल्चोक हाइट अपार्टमेन्ट नाम दिई उक्त क्षेत्रफलमा अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

कम्पनीले ३ हजार बढी स्क्वारमिटर क्षेत्रफलमा अपार्टमेन्ट निर्माण गर्ने भएको हो । रोडशोले उक्त क्षेत्रमा ६ प्रकारका अपार्टमेन्ट निर्माण गर्ने जनाएको छ । कम्पनीकाअनुसार अपार्टमेन्टमा विभिन्न सुविधा हुनेछ । कम्पनीले दुईवटा बेडरुमदेखि ८ वटा बेडरुम भएको अपार्टमेन्ट निर्माण गर्नेछ । उक्त अपार्टमेन्टको मूल्य निर्माण भएको क्षेत्रफलको आधारमा महंगो र सस्तो पर्नेछ ।

पद्मा रेसिडेन्सी-फेज भी

पद्मा ग्रुप अफ कम्पनीजले पाँचौ चरणमा काठमाडौंको रामकोट डाँडापौवामा पद्मा रेसिडेन्सी निर्माण गर्ने भएको छ । कम्पनीले ४९ रोपनीमा २३ वटा हाउजिङसहित ९२४ वटा अपार्टमेन्ट युनिट निर्माण गर्ने भएको हो ।

कम्पनीले उक्त अपार्टमेन्टमा वान बीएचके, टु बीएचके, थ्री बीएचके र डिलक्स कोठा सुविधाको अपार्टमेन्ट निर्माण गर्नेछ । कम्पनीले १५ प्रकारका युनिट अपार्टमेन्टको निर्माण गर्ने जनाएको छ ।

कम्पनीअनुसार वान बीएचके युनिटको अपार्टमेन्टमा एक/एक वटा बेडरुम, लिभिङ रुम, ढडाइनिङ रुम, भान्सा कोठा र शौचालयको व्यवस्था हुनेछ । टु बीचके युनिट अपार्टमेन्टमा २ वटा बेडरुसहित लिभिङरुम, शौचालय, भान्सा कोठा, थ्री बीएचके युनिटमा दुईवटा बेडरुम र एउटा मास्टर बेडरुमको सुविधा हुनेछ ।

पद्मा आइकोनिक टावर

पद्मा ग्रुप अफ कम्पनीजले नै काठमाडौंको ठूलो भर्‍याङमा ५ रोपनी ९ आनामा अपार्टमेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले पद्मा आइकोनिक टावर नाम दिई १३४ युनिटको अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

कम्पनीले २ वटा बेसमेन्टको सुविधासहित एउटा स्लिट फ्लोर र १० तल्लाको गगनचुम्बी भवन निर्माण गर्ने परियोजना अगाडि बढाएको छ । कम्पनीअनुसार अपार्टमेन्ट १ बीएचके, २ बीएचके र थ्री बीएचके युनिटको बन्नेछ ।

अपार्टमेन्ट ५९१ स्क्वारफिटदेखि १२ सय २२ स्क्वारफिटसम्ममा बन्नेछ । कम्पनीले अपाटमेन्टमा प्रतिस्क्वायरफिट क्षेत्रफलको मूल्य २१ हजार ५ सय रुपैयाँ तोकेको छ ।

कम्पनीले निर्माण सुरु भएको ३ वर्षमा घरधनीलाई अपार्टमेन्ट हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । कम्पनीले अपार्टमेन्टको मूल्य डेढ करोड रुपैयाँदेखि २ करोड ६० लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।

महाराजगञ्जमा कर्मा रेसिडेन्स

सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले राजधानी काठमाडौंको महाराजगञ्जमा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण हुँदैछ । करिब २ दशक अमेरिकामा बिताएका कर्मा तेञ्जिङको परिकल्पना र लगानीमा निर्माण हुने कर्मा रेसिडेन्सीले मराराजगञ्जमा रेसिडेन्स निर्माण गरिरहेको छ ।

अपार्टमेन्ट तीनवटा बिल्डिङमा हुनेछन् । प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ हुनेछ भने बाँकी १२ तलामा अपार्टमेन्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ । भवनमा १६२ वटा अर्पाटमेन्टहरु हुनेछन् ।

महाराजगञ्जको कतार भिसा सेन्टरबाट नजिकै पर्छ, रिङरोडबाट ६४ मिटर बाहिर अपार्टमेन्ट बन्दैछ । अमेरिकी र अष्ट्रेलियन राजदूतावास पनि नजिकै पर्छन् भने प्रहरी चौकी र अस्पताल पनि नजिकै छ ।

निर्माणको जिम्मेवारी ए वान बिल्डर्सले पाएको छ । करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओट्नेछ । नियम अनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्नेछ ।

जहाँ पार्कदेखि कम्युनिटी हलसम्मका भवनहरु निर्माण हुनेछन् । २.५ बीएचके र ३.५ बीएचके अपार्टमेन्ट रहने कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ ।

कम्पनीले आयोजना सकिँदासम्म ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीले प्रतियुनिटको मूल्य साढे ३ करोडदेखि ६ करोड २५ लाख रुपैयाँसम्म तोकेको छ ।

थापाथली हाइट अपार्टमेन्ट

सीई कन्स्ट्रक्सनले थापाथली हाइटमा अपार्टमेन्ट निर्माण गरिरहेको छ । कम्पनीले उपत्यकाभित्रै संयुक्त बसोबासको सुविधा दिन ३ रोपनी १४ आना क्षेत्रफलमा ६७ वटा युनिट अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

हालसम्ममा कम्पनीले निर्माण गरिरहेको अपार्टमेन्टमध्ये ६२ वटा बिक्री भइसकेको छ भने बाँकी ५ वटा भने बिक्री हुन बाँकी छ । देशभरका विभिन्न क्षेत्रमा पूर्वाधार निर्माणको काम गर्दै आएको कम्पनीले थापाथलीमा निर्माण गरिरहेको अपार्टमेन्टको मूल्य डेढ करोड रुपैयाँदेखि करिब साढे ३ करोड रुपैयाँसम्म तोकेको छ ।

सीएम डेभलपर्स र सासा डेभलपर्सको बाफल रेसिडेन्स

सीएम डेभलपर्स प्रालि र सासा डेभलपर्स प्रालिले जोइन्ट भेन्चरमा उपत्यकामा बाफल रेसिडेन्सी बनाउने भएको छ । कम्पनीले बाफलमा ३९ युनिटको सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

कम्पनीले २ बीएचके अपार्टमेन्ट ९५९ स्क्वायर फिटमा, ३ बीएचके १२ सय ७८ स्क्वायर फिटमा र ४ बीएचके अपार्टमेन्ट १९४१ स्क्वायर फिटमा निर्माण गर्ने भएको हो । अपार्टमेन्ट ए, बी, सी र डी गरी चार प्रकारका बन्नेछ । अपार्टमेन्टको न्यूनतम १ करोड ८९ लाख रुपैयाँदेखि अधिकतम ३ करोड ७० लाख रुपैयाँसम्म मूल्य तोकिएको छ ।

कम्पनीअनुसार अपार्टमेन्ट बेसमेन्टसहित ८ तल्लाको हुनेछ ।


अरिष्मा मोक्तान