१० वर्षमा ४.७६ प्रतिशतका मानिस गाउँ छाडेर शहर पसे



काठमाडौं । विभिन्न प्रकारका सुविधाको खोजी गर्दै गाउँबाट शहर पस्ने सर्वसाधारणको जनसंख्या बढेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँबाट शहर पस्ने सर्वसाधारणको संख्या बढेको हो ।

२०६८ मा शहरी जनसंख्या २२.३१ प्रतिशत थियो । पछिल्लो २०७८ सालको जनगणनाअनुसार यो प्रतिशत बढेर २७.०७ प्रतिशत पुगेको छ । २०७८ सालको जनगणनाअनुसार शहरी क्षेत्रको जनसंख्या २७.०७ प्रतिशत पुगेको छ ।

पछिल्लो १० वर्षको अवधिमा ४.७६ प्रतिशतका दरले सर्वसाधारणले गाउँ छाडेर शहर प्रवेश गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपालमा ग्रामिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीका अनुसार जनसंख्या, जनघनत्व, बसोबास क्षेत्र र शहरी क्षेत्रको श्रेणीगत विशेषताको आधारमा बडाहरुलाई ग्रामीण तथा शहरी क्षेत्र श्रेणीगत वर्गीकरण गरिएको हो । उनका अनुसार पछिल्लो जनगणनाअनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत छ ।

नेपालमा ६६.१७ प्रतिशत शहरी क्षेत्र रहेको आधारमा अर्धशहरी र शहरोन्मुख नगरपालिकाहरुको अवस्थाको वास्तविक तथ्याँक दिन नसक्ने भएकाले अध्ययनको आधारमा यो तथ्याँक सार्वजनिक गरिएको हो ।

कार्यालयका अनुसार पछिल्लो १० वर्षको अवधीमा ग्रामीण क्षेत्रको जनसंख्या ३८.५ प्रतिशत झरेर ३३.१८ प्रतिशतमा पुगेको देखिन्छ । प्रतिवेदनले विशेषताको आधारमा शहरोन्मभुख क्षेत्रभन्दा सर्वसाधारणको अत्याधिक लगाव शहरी क्षेत्रसँग रहेको भेटिएको छ ।

भगौलिक क्षेत्रका आधारमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधिअनुसार गरिएको विश्लेषणअनुसार ग्रामीण जनसंख्या पहाडमा ६६ र हिमालमा १६ प्रतिशत रहेको देखिएको छ । यस्तै शहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत पुगेको भेटिएको छ ।

प्रतिवेदनअनुसार पोखरा महानगरपालिका र काठमाडौंको उपत्यकाका कारण असन्तुलित हुँदै शहरी जनसंख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशत पुगेको भेटिएको छ ।

स्थानीय तहअनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा गाउँपालिकाहरुको २ हजार ४ सय १२ वडामा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बशोबास गरेको पाइएको छ । यस्तै अधिकाँश शहरोन्मुख (६६४ वडा) क्षेत्रमा ३६.१ प्रतिशत र शहर (१३९ वडा) मा ५.९ प्रतिशत जनसंख्या रहेको पाइएको छ ।

यसैगरी नगरपालिकाहरुको २८.४ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा (५९१ वडा), बहुसंख्यक करिब ४६ प्रतिशत शहरोन्मुख क्षेत्रमा (१२८५ वडा) र २५.४ प्रतिशत(१२४४ वडा) अझै पनि ग्रामीण क्षेत्रमा रहेको भेटिएको छ ।

उपमहानगरपालिकाहरुमा पनि ३९ प्रतिशत जनसंख्या शहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत शहरी वर्गीकरणको क्षेत्रमा बसोबास गर्ने गरेको पाइएको छ ।

यसैगरी महानगरपालिकाहरुमा १७ प्रतिशत शहरोन्मुख क्षेत्र परेका छन । २.३ प्रतिशत ग्रामीण विशेषता भएको र ८०.७ प्रतिशत शहरी क्षेत्र भएको फेला परेको छ ।

प्रतिवेदनले नगरपालिका भएपनि बशोबास क्षेत्रको मुख्य आकर्षण क्षेत्र शहरोन्मुख क्षेत्र परेका छन् । ‘उल्लेख्य जनसंख्या ग्रामीण परिदृश्यमा नै छन,’ प्रतिवेदनमा भनिएको छ ।

प्रदेशगत हिसावले विश्लेष्ण गर्दा संघीय संरचनामा शहरी र शहरोन्मुख जनसंख्या(कूल ६६.८ प्रतिशत) को वितरण तुलनात्मक रुपमा असन्तुलित छ । यो असन्तुलन मधेश प्रदेशमा सबैभन्दा बढि परिमाणमा भेटिएको छ । मधेशमा १९.९ प्रतिशत शहरी र शहरोन्मुख जनसंख्याबीच असन्तुलन छ । यस्तै बागमतिमा यो असन्तुलन १४.६ प्रतिशत, कर्णाली प्रदेशमा १.२ प्रतिशत रहेको पाइएको छ ।

शहरी जनसंख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहमा रहेको पाइएको छ । मधेश प्रदेशमा बहुसंख्यक वडा(९७१) शहरोन्मुख विशेषकताका छन् । बढी शहरी क्षेत्र भएको दोश्रो ठूलो प्रदेश वागमती देखिन्छ । जवकी वागमतिमा पनि ग्रामीण वडाको संख्या ६७२ छ भने कुल शहरोन्मुख र शहरी वडा ४४९ वटा छन् ।

कर्णाली प्रदेशमा ६३७ वटा वडा ग्रामीण विशेषताका छन भने ७५ वडा शहरी र ६ वटा वडा शहरोन्मुख बिशेषताका छन् ।


क्लिकमान्डु