वार्षिक ८ अर्बको तयारी पोशाक निर्यात, नयाँ गन्तव्य खोजी गर्दै व्यवसायी



काठमाडौं । नेपालको व्यापारघाटा कम गर्न ठूलो भूमिका रहेको तयारी पोशाकको निर्यात बढ्दो क्रममा छ । नेपालबाट निर्यात हुने वस्तुमध्ये ७ प्रतिशत हाराहारीमा हिस्सा ओगट्ने तयारी पोसाकको निर्यात पछिल्लो दिनहरुमा माग बढ्दै गएको देखिएको हो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले ५ अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात गरेको छ । नेपालले विश्वका विभिन्न मुलुकमा पुस मसान्तसम्ममा ४ अर्ब ९७ करोड १६ लाख रुपैयाँको ७४ लाख ४० हजार पिस तयारी पोशाक निर्यात गरेको हो ।

नेपालले गत वर्षको सोही अवधिमा ४ अर्ब २८ करोड १३ लाख रुपैयाँको ६५ लाख ८१ हजार पिस तयारी पोशाक निर्यात गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा तयारी पोशाकको निर्यात १६.१ प्रतिशतले बढेको । जुन निकै सकारात्मक रहेको छ ।

विगत लामो समयदेखि विश्वका विभिन्न मुलुकमा तयारी पोशाक निर्यात गर्दै आएका व्यवसायीहरुको व्यापारमा कोभिडले ठूलो असर पारेको थियो । उक्त समयमा उत्पादनदेखि ढुवानीको लागत महंगो हुँदा व्यवसायीहरुले पर्याप्त निर्यात गर्न सकेका थिएनन् । तर, कोभिडपछि अहिले बजार सुध्रिँदै गएको नेपाल तयार उद्योग संघका महासचिव वसन्तराज अधिकारी बताउँछन् ।

उनकाअनुसार नेपाली बजारमा उत्पादन भएको हाते तयारी पोसाकको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । जसमा परिमाण र निर्यात मूल्यपनि बढ्दो क्रममा छ । ‘नेपालले कोभिडको समयमा विभिन्न समस्याले माग हुँदा पनि निर्यात गर्न सकेको थिएन,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले विस्तारै बजार सुधार हुँदै गएको र ढुवानीको मूल्यमा कमी आई सामान्य अवस्थामा छ ।’

कोभिडको समयमा व्यवसायीहरुले प्रतिकेजी तयारी पोशाकको ढुवानी मूल्य १६ डलरसम्म तिरेर निर्यात गरेको थियो । नेपाली व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजार आफ्नो ग्राहकको मागअनुसार निर्यात गर्न सफल भएका थिए । त्यस्तै, अहिले अन्तर्राष्ट्रिय बजारमा हाते तयारी पोशाकको माग बढिरहेको अवस्थामा व्यवसायीहरुले उत्पादन पनि बढाइरहेका छन् ।

नेपालमा उत्पादन भएको तयारी पोशाककको मुख्य बजार अमेरिका छ । अमेरिकापछि बेलायत, जर्मनी, फ्रान्स, जापान, इटली, युएई, स्वीजरल्यान्८, स्वीडेन, स्पेन, न्यूजिल्यान्ड दक्षिण कोरिया, आयरल्यान्ड, भारत, फिनल्यान्ड, डेनमार्क, चेच रिपब्लिकमा, क्यानाडा, अष्ट्रिया र अष्ट्रेलियामा निर्यात गर्दै आएको छ । नेपालले विगत लामो सयमदेखि उक्त देशहरुमा मागअनुसार तयारी पोशाक निर्यात गर्दै आएको छ ।

उक्त देशहरुमा निर्यात गर्दै आएपनि युरोप मुलुकको अन्य देशमा पनि निर्यात गर्ने तयारी भइरहेको महासचिव अधिकारीले बताए । ‘युरोपको अन्य विभिन्न मुलुकमा निर्यातका लागि अध्ययन भइरहेको छ । नेपालबाट अहिले निर्यात गर्नेबाहेक अन्य मुलुकसँग व्यापारको लागि सम्झौता गरेको छैन । सरकारले निर्यातका लागि सहजीकरण गरेमा व्यवसायीहरुले अन्य मुलुकमा निर्यात गर्न सक्नेछन्,’ उनले भने । उनकाअनुसार युरोपको सम्भावित मुलुकहरुमा व्यवसायीहरुले निर्यातको लागि तयारी गरिरहेको छ ।

व्यवसायीहरु नेपालमा उत्पादन भएको हाते तयारी पोशाक विश्वभर बजारीकरण गर्न इच्छुक छन् । तर, ढुवानी, करलगायत विभिन्न समस्याले गर्दा सिमित देशहरुमा मात्रै निर्यात गरिरहेका छन् । आगामी दिनमा भने अध्ययन तथा सम्झौता गरेर निर्यात गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

१५ वर्षमा पौने एक खर्बको निर्यात

वार्षिक अर्बौ रुपैयाँको निर्यात हुँदै आएको तयारी पोशाकले व्यापारघाटा कम गर्न निकै ठूलो योगदान छ । त्यस्तै, नेपालले १५ वर्षको अवधिमा पौने एक खर्बको तयारी पोशाक निर्यात गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।

नेपालले आर्थिक वर्ष २०६६/६७ देखि चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७९ अर्ब ४७ करोड २९ लाख रुपैयाँको तयारी पोशाक निर्यात गरेको छ । नेपालले सो अवधिमा २० करोड ९० लाख पिस तयारी पोशाक निर्यात गरेको हो । नेपालले आर्थिक वर्ष २०६६/६७ मा ३ अर्ब ७५ करोड ८१ लाख रुपैयाँको १ करोड ७४ लाख २५ हजार पिस तयारी पोशाक निर्यात गरेको थियो ।

त्यस्तै, नेपालले आव २०६७/६८ मा ४ अर्ब ८ करोड ४० लाख रुपैयाँको, आव २०६८/६९ मा ४ अर्ब ५ करोड ९९ लाख रुपैयाँको, आव २०६९/७० मा ३ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ, आव २०७०/७१ मा ५ अर्ब ६० करोड ४९ लाख रुपैयाँको र आव २०७१/७२ मा ५ अर्ब २८ करोड ७९ लाख रुपैयाँको तयारी पोशाक निर्यात गरेको थियो ।

त्यसैगरी, आव २०७२/७३ मा ५ अर्ब ८८ करोड ४६ लाख रुपैयाँको, आवको २०७३/७४ मा ५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ, आव २०७४/७५ मा ५ अर्ब ९७ करोड १० लाख रुपैयाँको र आवको २०७५/७६ मा ६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँको निर्यात गरेको थियो । तर, आव २०७६/७७ र आव २०७७/७८ मा कोभिडले गर्दा करिब २ अर्ब रुपैयाँले कम निर्यात भएको देखिन्छ ।

नेपालले कोभिडको समय अर्थात् आव २०७६/७७ मा ४ अर्ब ८७ करोड ३८ लाख रुपैयाँको र आव २०७७/७८ को ४ अर्ब ७९ करोड ७४ लाख रुपैयाँको तयारी पोशाक निर्यात गरेको थियो । साथै, आव २०७८/७९ मा ६ अर्ब ४९ करोड २ लाख रुपैयाँ र आव २०७९/८० मा ८ अर्ब २१ करोड ९० लाख रुपैयाँको तयारी पोशाक निर्यात गरेको छ ।


क्लिकमान्डु