विराटनगर कष्टम यार्डमा प्रतिनिधी खटाउने सहमति



काठमाडौं । बिराटनगरस्थित नेपाल कष्टम यार्ड औपचारिक रुपमा सञ्चालनमा ल्याउने गरी नेपाल इन्टरमोडल यातायात विकास समिति तथा रेल कम्पनीबीच समझदारी भएको छ ।

उक्त समझदारीअनुसार यार्डमा समिति र रेल कम्पनीको सम्पर्क व्यक्तिलाई खटाउने बिषयमा समझदारी भएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र रेल कम्पनीका प्रवन्ध निर्देशक निरञ्जन झाबीच यस्तो समझदारी भएको हो ।

गजुरेलका अनुसार उक्त यार्डमा व्यवसायीले ल्याउने कार्गो सरकारले तोकेको न्युनतम शुल्कमा व्यवस्थापन गर्ने बिषयमा सम्पूर्ण तयारी सम्पन्न भएको छ । उनले निर्धक्क भएर यार्डमा कार्गो रेल लिएर आउन व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारती समकक्षी नरेन्द्र मोदीले जेठ १८ गते भारतको बथनाहदेखि बिराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डको संयुक्त रुपमा उदघाट्न गरेका थिए । उदघाट्न भएकै दिन बथनाहबाट बुधनगरसम्म पहिलो पटक भारतीय कार्गो रेल आइपुगेको थियो ।

‘समिति, भन्सार कार्यालय र रेल कम्पनीले सम्पूर्ण तयारी सम्पन्न गरेको छ,’ गजुरेलले भने,‘व्यवसायीले कार्गो रेल लिएर आउन सक्छन । अब कार्गो रेल ल्याउन कुनै समस्या छैन ।’


क्लिकमान्डु