चौधरी ग्रुपले भैसेपाटीमा ५२ वटा बंगला बनाउँदै, ६३ प्रतिशत बुकिङ सम्पन्न



काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी हिल्स प्रालिले भैसेपाटीमा ‘प्रिमियम हिल्स’ का नाममा ५२ वटा हाउजिङ परियोजना निर्माण गरिरहेको छ ।

कम्पनीले भैसेपाटीमा सुविधा सम्पन्न बंगला निर्माण गरिरहेको छ । चौधरी ग्रुपको ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले यसअघि काठमाडौं रेसिडेन्सी, माउन्ट भ्यू रेसिडेन्सी र हात्तीगौढामा सीपीहिल्स हाउजिङ निर्माण गरिसकेको छ । सन् २०१७ मा स्थापना भएको कम्पनीले आयोजनाका निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ । हालसम्म कम्पनीले आयोजनाको ४३ प्रतिशत आर्थिक प्रगति सम्पन्न गरेको जनाएको छ ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण रियल इस्टेट क्षेत्र सुस्ताएको छ । बजारमा माग नहुँदा कम्पनीको बिक्रीमा प्रभाव परेको जनाइएको छ । पछिल्लो डेढ वर्षदेखि रियल इस्टेट क्षेत्रमा देखिएको समस्या हालसम्म सुधार हुन सकेको छैन । रियल इस्टेट क्षेत्रमा सुधार नआउँदा आयोजनाको निर्माण कार्य पनि लम्बिएको छ ।

कम्पनीले सुरुमा २०२४ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । अहिले समय थपेर आयोजनाको निर्माण २०२४ डिसेम्बरमा सम्पन्न गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२४ को ५ महिनासम्ममा आयोजनाको ६३ प्रतिशत हाउजिङ बुक भइसकेको छ ।

आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भिआईपीहरूको जमघट हुने स्थानमा सीजीसँग जोडिदै आएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्याउन यहाँ हाउजिङ परियोजना शुरू गरिएको हो ।

यहाँ चार प्रकारका घरहरू निर्माण हुनेछन् । करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका हुनेछन् । यी घरहरू ४ देखि १० आना क्षेत्रफलमा निर्माण हुनेछन् । नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाईनेछ ।

कम्पनीले उक्त हाउजिङ परियोजनाभित्र स्वीमिङ पुल, बगैंचा, अन्डरग्राउन्ड तार, खाने पानीको सुविधासहित २४सैं घण्टा सुक्युरिटी र सीसी क्यामेराको सुविधा हुने जनाएको छ । कम्पनीका अनुसार उक्त घरमा उच्च गुणस्तरीय डण्डी, ईट्टा, छडलगायत अन्य निर्माण साम्रगीको प्रयोग भएको जनाएको छ ।

साथै, कम्पनीले घरको वारेन्टी २ वर्षसम्मका लागि दिएको छ । दुई वर्षको अवधिमा हाउजिङमा केही समस्या आएमा कम्पनीले निःशुल्क मर्मत सेवा दिने जनाएको छ ।


क्लिकमान्डु