यातायात व्यवसायीको मागः रुट इजाजत नभएका सबारी साधन सञ्चालनमा रोक लगाउ



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सबारी दुर्घटना कम गर्न मापदण्ड विपरीत रुट इजाजत नलिएर सञ्चालन भइरहेका सवारीसाधनको सञ्चालनमा रोक लगाउन माग गरेको छ ।

महासंघले मंगलबार प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन । महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य (सरोज) प्रसाद सिटौलाका अनुसार सबारी दुर्घटना न्युनिकरण गर्ने सबालमा महासंघले कुँवरलाई ११ बुंदे ज्ञापन पत्र बुझाएको हो ।

महासंघले विपी राजमार्गसहित देशभरका सबै राजमार्गमा टाइम कार्ड प्रणाली कार्यान्वयनमा ल्याएर मापदण्डविपरित सञ्चालनमा रहेका सार्वजनिक सबारी साधनको सञ्चालनमा रोक लगाउन पनि सरकारसँग माग गरेको छ ।

सिटौंलाका अनुसार सबारी दुर्घटनाको नाममा राजमार्गको विभिन्न खण्डमा हुने चेकिंगलाई व्यवस्थित गर्न पनि सरकारसँग माग गरेको छ । एउटै प्रदेश र जिल्लामा सञ्चालित सार्वजनिक सवारीसाधनलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले पटक–पटक जाँच गर्दा द्वन्द्वकालको जस्तो अनुभूति भएको उल्लेख गर्दै महासंघले विभिन्न स्थानमा हुने चेकजाँचका कारण चालक तथा परिचालकले मानसिक तनाव भोग्नुपरेको औल्याएका छन।

बढ्दै गएको सबारी दुर्घटनालाई न्युनिकरण गर्न राजमार्गमा हुने चेकिङ विश्रामस्थलमा मात्र गर्न महासंघले सुझाव दिएको छ । व्यवसायीले देशभरिका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा विश्रामस्थल राखी सोही स्थानमा चेकिङ गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रस्थान बिन्दुबाट चेकिङ भई सञ्चालन भएको सवारीलाई विश्रामस्थल वा गन्तव्य स्थानमा जाँच गर्न माग गरिएको छ ।

दुर्घटनापछिको उद्धारमा हुने ढिलाइ, दुर्घटनापछि प्रहरी प्रशासन मौन बस्ने, प्रहरीले मिलेर आउनुहोस् भन्ने अभिव्यक्तिले यातायात व्यवसायीले २४ घण्टाभित्र सवारीसाधन नपाएको बिषयमा भने व्यवसायीले विरोध जनाएका छन् ।

जिल्लास्तरमा सचेतना बढाउनुपर्ने र दुर्घटनापछि सवारीसाधन २४ घण्टाभित्रै सम्बन्धित कम्पनी वा व्यवसायीले पाउने कानुनी व्यवस्था गर्नसमेत माग गरेका छन ।

भारतीय गाडीले यात्रु र मालसामान ढुवानी गरेको भन्दै यस्ता सवारीसाधनलाई रोक लगाइएको छ । सडकको गुणस्तर बढाउन र सडकमा छाडा चौपाया, बिस्कुन सुकाउन र मर्निङ वाक रोक्न समेत माग गरिएको छ ।


क्लिकमान्डु