धरहराको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ



काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले सवारी चालकलाई सहज रुपमा पार्किङस्थल उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि यो सेवा उपलब्ध गराउन लागेको हो । न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ गर्न निषेध गरेको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइ सकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौं ।’

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना भएको महानगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु