वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलन भने उच्च



काठमाडौं । मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु आव २०८०/८१ को सोही अवधिमा दुई खर्ब १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन ६. ३४ प्रतिशतले वृद्धि भएको हो ।

राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ । मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन् ।

उक्त वस्तुबाट गत आवको पुस मसान्तसम्म ६६ अर्ब ५६ करोड रुपैयाँ (कूल राजस्वको ३५ .४ प्रतिशत) राजस्व सङ्कलन भएकोमा चालु आवको पुस मसान्तसम्म ८२ अर्ब ७८ करोड रुपैयाँ (कूल राजस्वको ४१.४ प्रतिशत) सङ्कलन भएको छ । गत आवको तुलनामा उक्त राजस्व २४.४ प्रतिशतले बढी हो ।

गत आव पुस महिनासम्मको तुलनामा २० अर्ब ६९ करोड रुपैयाँ बढी राजस्व उठेको छ जुन रकम अहिलेसम्म सङ्कलन भएको राजस्वको १०.३ प्रतिशत राजस्व हो । भन्सार विभागको चालु आवको पुस मसान्तसम्म तीन खर्ब छ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा दुई खर्ब १० करोड रुपैयाँ राजस्व सङ्कलन गरी लक्ष्यको तुलनामा ६५.३६ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

जुन वार्षिक लक्ष्यमा ३१.८८ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

विभागले सङ्कलन गर्ने राजस्वमा मुख्यतः भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको हिस्सा छ । भन्सार प्रशासनबाट चालु आवको पुस मसान्तसम्म सङ्कलित कूल राजस्वमध्ये ८८ अर्ब ८० करोड रुपैयाँ भन्सार महसुल, ८७ अर्ब ४१ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर, १८ अर्ब १० करोड रुपैयाँ अन्तःशुल्क शिर्षक अन्तर्गत सङ्कलन भएको जनाएको छ ।

त्यस्तै दुई अर्ब ४१ करोड रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर, तीन अर्ब ३९ करोड रुपैयाँ सडक निर्माण तथा सम्भार दस्तुरबापत सङ्कलन भएको छ । जुन सोही अवधिमा सङ्कलित राजस्वमध्ये भन्सार महसुलको हिस्सा ४४.१ प्रतिशत, मूल्य अभिवृद्धि करको ४३.७ प्रतिशत, अन्तःशुल्क ९.१ एक प्रतिशत, सडक मर्मत तथा सुधार दस्तुुर १.२ प्रतिशत र सडक निर्माण तथा सम्भार दस्तुर १.७ प्रतिशत रहेको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा नेपालले कूल आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । त्यसमध्ये सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको आयात भएको छ भने ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

उक्त अवधिमा नेपालले करिब सात खर्ब रुपैयाँबराबर व्यापार घाटा व्यहोरेको छ । पुस मसान्तसम्ममा छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ बराबरको व्यापार घाटा देखिएको हो ।


क्लिकमान्डु