माउन्टेन ग्लोरीद्वारा ४० करोड रुपैयाँबराबरको शेयर निष्काशन गर्ने तयारी



काठमाडौं । पोखरामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दैआएको माउन्टेन ग्लोरी लिमिटेडले ४० करोड रुपैयाँबराबरको शेयर निकाल्ने तयारी गरेको छ ।

ग्लोरी लिमिटेडले सर्वसाधारणको लागि १ सय अंकित दरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो । यसका लागि ग्लोरी लिमिटेडले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

साधारण शेयर निष्काशनको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिलभक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशन पश्चात् कोठाहरु थप गरी विदेशी होटलसंग अनुबन्धन गरेर पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको छ ।

हाल जारी पूँजी १ अर्व ५० करोड रुपैयाँ रहेको माउन्टेन ग्लोरी लिमिटेडले ८ बर्षदेखि पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिशेष सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।


क्लिकमान्डु