सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजस्वमा कमी आयोः व्यवसायी



काठमाडौं । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजस्वमा कमी भएको व्यवसायीहरुले बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यवसायीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए ।

उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने बेलुका ट्रकमा गाउँगाउँमा पुर्‍याउने गरिएको बताए । उनीहरुले भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो भइरहेको बताए ।

व्यवसायीहरुले व्यवसायीहरुलाई भन्सारमा सहजता बनाउनको लागि भन्सार प्रणालीलाई पूर्णरुपमा डिजिटलाइज गर्न जरुरी रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गर्नुपर्ने बताए ।

यसलाई खोरज गरी औपचारिक व्यवसायीक वातावरण बनाउन उनले आग्रह गरे । नेपालमा व्यवसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै भएकाले भन्सार प्रशासनलाईपूर्ण रुपमा डिजिटलाइज बनाएर राजस्वमा वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजस्व गुमाइरहेको दाबी गरे । उनले सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्ने विषयमा ध्यान दिन माग गरे । भारतबाट मालवाहक सवारीहरु खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टामा भन्सारमा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न उनले माग गरे ।

नेपालमा सामान लिन आउने सवारी साधनलाई दुई दिनसम्म शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने बताए । भारतबाट नेपालमा सामान लिएर आउने मालवाहक सवारी साधनहरुलाई फिर्ता जान ७२ घण्टाको भन्दा बढी समय नेपालमा बस्नुपर्दा प्रतिदिन २ हजारका दरले थप शुल्क लाग्ने प्रावधान रहेको बताए ।

भारतबाट खाली सवारी साधन मगाउँदा प्रतिदिन २ हजार ५ सयका दरले भन्सार शुल्क लिने प्रावधानले नेपालबाट निर्यात हुने सिमेन्ट लगायत निर्यात जन्य वस्तुहरु महँगो हुन गई प्रतिष्पर्धी क्षमता गुमाइरहेको उनको भनाइ छ ।


क्लिकमान्डु