महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार, आजबाट पद बहाली



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले आज पद बहाली गरेका छन् ।

माघ ३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आएका हुन् । यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएका छन् ।

पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा परियारले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताए ।

‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नु पर्नेछ’ उनले भने ।

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौंले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे ।
विसं २०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका थिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत कार्यालयमा काम गरेका छन् । उनले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गरेका छन् ।


क्लिकमान्डु