मेलम्चीबाट पर्यटकीय क्षेत्र गुफाडाँडा पुग्ने सडक स्तरोन्नति गरिँदै



सिन्धुपाल्चोक । मेलम्ची-ज्यामिरे-गुफाडाँडा-पर्यटन मार्ग स्तरोन्नति गरिने भएको छ ।

बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्गअन्तर्गत मेलम्ची–१० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गरेका हुन् ।

मेलम्ची नगरपालिकाको दुई करोड ५९ लाख रुपैयाँको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीले सडक कालोपत्र, ढलान लगायतको काम गर्न लागेको हो ।

शिलान्यास कार्यक्रममा वडा नं ९ र १० का वडाध्यक्ष किरणदीप खड्का र अमृत खनाल तथा वडा नं १० का पूर्ववडाध्यक्ष भक्तबहादुर खड्का लगायतको सहभागिता थियो ।

जलवायु सम्मेलन भएको पर्यटकीय क्षेत्र गुफाडाँडा जोड्ने सडकमा सङ्घीय सरकारको ध्यान नपुगेपछि नगरपालिकाको बजेटबाट सडक स्तरोन्नतिको काम गर्न लागेको नगरप्रमुख तामाङले बताए ।

उनले सङ्घ तथा प्रदेश सरकारले मेलम्चीको विकासमा ध्यान नदिएको भन्दै चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न सङ्घ तथा प्रदेश सरकारका प्रतिनिधिलाई आग्रह गरे । सडक निर्माणका क्रममा गुणस्तर र परिमाणमा ध्यान दिन तामाङले निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए । वडा नं ९ का अध्यक्ष खड्काले क्रमशः गुफाडाँडासम्म सडक कालोपत्र तथा ढलान गरिने बताए ।


क्लिकमान्डु