पेट्रोल पम्पले बैंकमा जम्मा गर्न लगेको साढे ९ लाख लुटियो



काठमाडौं । लुटेराहरुको समूहबाट पेट्रोलियम व्यवसायी लुटिएका छन् ।

मधेश प्रदेशको मिथिला नगरपालिकास्थित चित्रा आयल स्टोरका कर्मचारीबाट लुटेराहरुको समूहले ९ लाख ६० हजार रुपैयाँ लुटेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ ।

आयल स्टोरमा संकलन भएको रकम बैंकमा जम्मा गर्न जाने क्रममा अज्ञात समूहले बन्दुक देखाएर कर्मचारीको मोटरसाइकल रोकेर उक्त रकम लुटेर लगेको एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताएका छन् ।

एशोसिएसनले लुटिएको रकम फिर्ता गराउन र सुरक्षाको लागि सरकारसँग माग गरेको छ ।


क्लिकमान्डु