नारायणहिटी दरबारको पर्खाल भत्काउन महानगरको ताकेता



काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल सुधार गर्न तोकेता गरेको छ ।

नेपाल ट्रष्टको कार्यालयलाई बुधबार पत्र लेख्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) बमोजिम पर्खालको संरचना बनाउन पुन: आग्रह गरेको हो ।

‘बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको’ भए पनि त्यस बमोजिम संरचना नरहेको भन्दै त्यसलाई सुधार गर्न महानगरले यसअघि नै अनुरोध गरिएको भए पनि सुधार भएको नदेखिँएकाले पुन: ताकेता पत्र लेखिएको जनाएको छ ।

नारायणहिटी दरबार संग्रहालयकको सीमा पर्खाल मापदण्डभन्दा अग्लो छ । अग्लो पर्खाल भत्काएर १.२ मिटर र सो माथि ०.६ मिटर अग्लो जाली राख्न महानगरले ताकेता गरेको हो ।

पत्रमा उल्लेख भए बमोजिम कार्य सम्पन्न गरी यस कार्यालयलाई जानकारी गराउनु हुन महानगरले अनुरोध गरेको छ ।


क्लिकमान्डु