सरकारद्वारा आयल निगमको कार्यकारी निर्देशकमा देउवाको भान्जासहित १३ जनाको आवेदन स्वीकृत



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त पद कार्यकारी निर्देशकका लागि आवेदन दिएका १३ जनाको नाम स्वीकृत गरेको छ ।

मन्त्रालयले पुस ७ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । उक्त आह्वानअनुसार विभिन्न क्षेत्रमा क्रियाशील १३ जनाको नाम स्वीकृत गरेको हो । निवेदन दिएकामध्ये काठमाडौंका सहदेव चन्द नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाञ्जा हुन् । कम्प्युटर इन्जिनियर चन्द नेपाल राष्ट्र बैंकमा निर्देशक पदमा कार्यरत छन् ।

मन्त्रालयका अनुसार आवेदन दिनेहरुमा महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौंका उत्तरकुमार रेग्मी, चितवनका इन्जियिनर डा। डोलप्रसाद चापागाईं, मोरङका पङ्कजकुमार दास र धनुषाका रामदेव यादवको आवेदन स्वीकृत भएको हो ।

यस्तै, सप्तरीका सञ्जीवकुमार देव, काठमाडौंका दिलीपशेखर श्रेष्ठ, मोरङका माधव रेग्मी, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बाग्लुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् ।

सरकारले निगमको कार्यकारी निर्देशक २०७५ सालयता खुला प्रतिस्पर्धाबाट हुँदै आएको छ । मन्त्रालयको सचिव नारायणप्रसाद शर्माको नेतृत्वमा गठित छनौट समितिले उम्मेदवारलाई अन्तर्वार्ता र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने छ ।

अन्तिम तीन जनामध्ये उपयुक्त र योग्य एक जनालाई सरकारको मन्त्रिपरिषद् बैठकबाट कार्यकारी निर्देशक पदमा नियुक्त हुने छन् ।


क्लिकमान्डु